• The Public Today
  • पुनर्निर्माणमा कार्यरत प्राविधिकको माग पूरा, काममा फर्कन सहमत


    काठमाडौं, बैशाख १४ गते । पुनर्निर्मणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् ।

    नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए।

    काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ ।
     ‘प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ-‘ निर्णयमा उल्लेख गरिएको छ ।

    नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए ।

    प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिए । 

    प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस