धनकुटा, बैशाख १७ गते । प्रदेश नम्वर १ को सरकारले धनकुटालाई प्रदेशको सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको प्रदेश १ काे मन्त्रिपरिषदको बैठकले धनकुटालाई सम्पर्क राजधानी तोक्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो ।
धनकुटामा रहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुबेदीले जानकारी दिए । त्यस्तै धनकुटामा कोशी पहाडी जिल्ला हेर्ने गरी यातायात सेवा कार्यालय राख्ने पनि निर्णय भएको छ ।
पूर्वको प्रशासनिक केन्द्रको रुपमा रहँदै आएको धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम थियो । धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन जिल्लाबासीले माग गरिरहेका बेला प्रदेश सरकारले सम्पर्क राजधानी तोकेको हो ।