प्रधानमन्त्रीज्यू, बहाना बनाएर बालुवाटार किन्‍नेलाई नजाेगाउनुस्

फाइल फोटो
 

काठमाडौं, वैशाख १८ गते : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्‍न बहाना बनाएर बालुवाटारकाे जग्गा किन्‍नेलाई जाेगाउन नहुने बताएका छन्।

निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको सरकारी आवास बालुवाटारकाे जग्गा व्यक्तिका नाममा गराउनेलाई जाेगाउन लागेको आराेप लगाएका हुन्। ‘ललिता निवास (बालुवाटारकाे जग्गा) काण्ड याे वा त्यो बहाना बनाएर, देखाएर टार्ने कुरा भइरहेको छ’, उनले भने, प्रधानमन्त्रीबाट पहिले पनि भएका थिए भनेर टार्ने काम नहाेस्, जाेसुकै संलग्‍न भए पनि वा जसले भ्रष्टाचार गरे पनि कारबाही हाेस्।’

ललिता निवासको जग्गा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पाैडेलले छाेरा नवीनकाे नाममा किनेकाे खुलासा भएको थियाे। जसकाे अहिले चाैतर्फी विराेध भइरहेको छ। ज्वाइन्ट ट्रेड युनियन काेअर्डिनेशन सेन्टर (जेटियुसिसी)ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री बाेलेर बाहिरिइसकेपछि बाेलेका निधिले सरकारकाे चर्काे आलाेचना गरे।

उनले प्रधानमन्त्री गइसकेकाले धेरै आलोचना गर्न नचाहेको धारणा राखे। ‘सरकारले लगानीको वातावरण बनाओस्, उत्पादनमा ध्यान दिनुपर्छ’, उनले भने, ‘विपक्षीलाई आक्रमण गर्ने अरिंगाल उत्पादन गर्ने हाेइन, बुद्धिजीवीलाई थला पार्ने र आलोचकलाई नन्दीभृंगि नभन्‍नुहाेस्।’

निधिले वर्तमान सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएकाे याेगदानका आधारमा सामाजिक सुरक्षा ऐन आफैंले ल्याएझैँ नयाँ युगकाे सुरुवात भनेर गलत प्रचार गरेको बताए। स्थापना कालदेखि नै कांग्रेसले मजदुरको पक्षमा काम गर्दै आएको बताउँदै निधिले आगामी दिनमा पनि मजदुरको हक, हितमा लाग्ने दाबी गरे ।

Scroll to Top