सडक निर्माणलाई तीव्रता दिन माग गर्दै मोटरसाइकल र्‍याली

 

जनकपुर, वैशाख १९ — हुलाकी सडक तथा कमला पूल निर्माणलाई तीव्रता दिन माग राख्दै सार्वजनिक निर्माण सरोकार समाजले बिहीबार मोटरसायकल र्‍याली निकालेको छ । र्‍यालीमा जनकपुर उपमहानगरपालिका, कमला, शहीदनगर, हंसपुर, विदेह नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका उपभोक्ताहरुको उल्लेख्य सहभागिता थियो ।

मध्य र पूर्वी धनुषाका सयौं सेवाग्राही जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रधानमन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । उनीहरुले प्रदेश २ का मुख्यमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा हुलाकी सडक महानिर्देशनालयको समेत ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक खरीद ऐनमा संशोधन, कमला पुलका निर्माण कम्पनी पप्पु कन्ट्रक्सनमाथि कार्यबाही तथा अधुरा कार्य तत्काल पूरा गर्नुपर्ने, हुलाकी सडक छेउको सर्वसाधारणको सहमतिबिना खनेकोले सम्बद्ध जग्गाधनीलाई क्षतिपूर्ति, सडक निर्माणको क्रममा विस्थापित नागरिकलाई मुआब्जा तथा विकास निर्माण कार्यालयहरुले लगत इस्टीमेट लगायतकागजात सार्वजनिक गर्नुपर्ने माग अघि सारिएको छ ।

गत फागुन १६ गते विदेह नगरपालिकास्थित तीनकौरिया चौकमा बसेको बृहत् बैठकले निर्माण कार्यलाई तीव्रता दिन तथा गुणस्तर निगरानी गर्न नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झाको अध्यक्षतामा दबाब समूह गठन गर्ने निर्णय गरेको थियो । साभार : कान्तिपुर

Scroll to Top