आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै

जनकपुरधाम, बैशाख २० गते । आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।  नेपालमा यस वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित यो दिवस मनाईदैछ ।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोगसँगको सहकार्यमा प्रेस स्वतन्त्रता सम्मेलनको आयोजना गरेका छन्।  सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ।  

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ। नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि यी कानूनहरुले स्वतन्त्र प्रेसलाई संकुचित बनाउने आशंका विभिन्न क्षेत्रबाट गरिएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष आचार्याले २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाएको भन्दै राज्यको प्रतिबद्धता अझै पुरा हुन नसकेको औंल्याएका छन् ।

Scroll to Top