• The Public Today
  • फेसबुकले विवादास्पद राजनीतिक हस्तीहरुको एकाउन्टमाथि प्रतिबन्ध लगायो


    बैशाख २१, सामाजिक सञ्जाल फेसबुकले एलेक्स जोन्सलगायत कैयौं विवादास्पद अमेरिकी राजनीतिक हस्तीहरुको एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । यी नेताहरुले कम्पनीको नीति उल्लंघन गरेको फेसबुकले जनाएको छ ।

    फेसबुकले यी राजनीतिक हस्तीहरुको व्यक्तिगत एकाउन्टका अलावा यिनीहरुको संगठनात्मक एकाउन्टमाथि पनि प्रतिबन्ध लगाएको हो । फेसबुकले बयानमा भनेको छ, ‘यी राजनीतिक हस्तीहरुको गरेको पोस्टले समाजमा नकारात्मक सन्देश फैलाउन मद्दत पुग्ने हुँदा उनीहरुको एकाउन्ट प्रतिबन्ध गरिएको हो ।’

    फेसबुकले एलेक्स जोन्सलगायत मिलो यियानोपोलोस, लारा लोमर र पल जोसेफजस्ता अमेरिकी राजनीतिक हस्तीहरुको एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । 

    फेसबुकले श्वेत वर्चस्ववादी पल नेहलेनमाथि पनि प्रतिबन्ध लगाएको छ । यसको अलावा फेसबुकले अलगवाद र यहुदीमाथि लगातार टिप्पणी गर्दै आइरहेका इस्लाम नेता लुई फर्राखनको एकाउन्टमाथि पनि प्रतिबन्ध लगाउने फैसला गरेको छ । 

    तर चकित पार्ने कुरा त के छ भने प्रतिबन्ध लागेको एक घण्टापछि एलेक्स जोन्सले दोस्रो एकाउन्टबाट फेसबुक लाइभ गरेका थिए । प्रतिबन्ध लागे्पछि एलेक्सले ‘इन्फोवार्स इज ब्याक’ नामको फेसबुक एकाउन्टबाट फेसबुक लाइभ गरेका थिए । तर फेसबुकले केही समयमा नै लाइभ भिडियो हटाएको थियो । 

    पछिल्लो वर्ष पनि गुगल, ट्विटर र एप्पलले पनि ‘इन्फोवार्स’ को एकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए । एकाउन्ट प्रतिबन्ध भए पछि पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा लुई फर्राखनको कैयौं भिडियोहरु छन् । 

    ‘हामी हिंसा र घृणा फैलाउने व्यक्ति र संगठनलाई प्रतिबन्ध लगाउन लगातार प्रयत्न गर्दै आइरहेका छौं,’ फेसबुकले बयानमा भनेको छ ।  एजेन्सी


    क्याटेगोरी : विदेश, सामाजिक संजाल

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस