शान्ति सुरक्षाको सवाल

 

मुलुकको शान्तिसुरक्षाको अवस्था निकै कमजोर देखिएको छ । गत शुक्रवार काठमाण्डौस्थित एनसेलको कार्यालय र विभिन्न टावरमा विप्लव समूहबाट बम विस्फोट गराइयो । कार्यालयअघि गराइएको विस्फोटले लमजुङका सिमप्रसाद गुरुङको मृत्यु भएको छ भने दुई जना सिकिस्त घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । सुरुमा अज्ञात समूहद्वारा गराइएको भनिएको उक्त घटनाको जिम्मेवारी आइतवार विप्लव समूहले लिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तुष्ट नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) द्वारा गराइएको बम विस्फोटको घटना निन्दनीय छ । मुलुकको शान्तिसुरक्षाका लागि यो घटना निकै ठूलो चुनौती हो । यसको निकास समय छँदै खोजिनुपर्छ ।

मुलुकको विकास र समृद्धिका लागि आवश्यक लगानी भित्र्याउन सरकारले आगामी चैतमा मित्र एवं दातृ राष्टूहरुको सम्मेलनको आयोजना गर्न लागिरहेको बेला शुक्रवार राति एनसेलका विभिन्न टावर र कार्यालयमा गराइएको बमविस्फोट घटना सो सम्मेलनलाई दुष्प्रभावित पार्न भएको हो कि भन्ने आशंका पैदा भएको छ । यद्यपि विप्लव समूहले एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौ रुपियाँ कर गबन गरेको भन्दै यसअघि पनि उसका टावरहरुमा बम विस्फोट गराएका थिए । हालसालै सर्वोच्च अदालतले एनसेललाई राज्यलाई तिनुपर्ने अर्बौ रुपियाँ बक्यौता लाभकर तिर्न आदेश गरेको छ । तर त्यो आदेश कार्यान्वयनमा सुस्त देखिएको छ । अनुमान गर्नेले देखिएको त्यस्तो सुस्तीले राज्यले आफ्नो आवश्यकताको त्यत्रो ठूलो रकम डुबाउनुपर्ने त होइन भन्नका लागि पनि खबरदारीस्वरुप बमविस्फोट गराएको हुन सक्ने अनुमान गरेका छन् । तर कारण जेजस्तो भए पनि मानिसको ज्यानै जाने गरी गराइएको यो बम विस्फोटको घटना खबरदारीकै लागि हो भने पनि विकृत र हिंसक छ । यसको जति निन्दा गरे पनि कम हुन्छ ।

मुलुकको राजधानी सहर नै सुरक्षित छैन भने अन्य क्षेत्रको शान्तिसुरक्षाको अवस्था सहजै अनुमान गर्न सकिन्छ । यो घटनाले सरकार शान्तिसुरक्षाको समुचित व्यवस्थापन गर्न नसकेको कुरा उजागर गरिदिएको छ । वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलनजस्तो ठूलो आयोजन गरिरहेको सरकारले लगानी भित्र्याउन लगानी सुरक्षाको प्रत्याभूति दिनुपर्ने कुराको हेक्का नराखेको भन्न सकिंदैन । हेक्का राखेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशीविदेशी विभिन्न मञ्चमा नेपालमा लगानी सुरक्षाको वातावरण बनेकोले ढुक्कसंग लगानी गर्न गरिने आह्वानले पुष्टि गर्दछ । तर यो घटनाले प्रधानमन्त्री ओलीको विश्वासलाई मात्रै ठेस पुगेको छैन मुलुककै विकास र समृद्धिको स्वार्थलाई पनि आघात पुगेको छ । विप्लव समूहले पनि मुलुकको भलोकै लागि राजनीति गरेको हो भने शान्तिपूर्ण प्रतिस्पर्धा गरेर जनताको मन जित्न सक्नुपर्छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व ब्यहोरेर थला परेको हाम्रो मुलुक फेरि पनि त्यस्तो सशस्त्र द्वन्द्व व्यहोर्न तयार छैन । यो यथार्थको हेक्का त्यस्तो हिंसात्मक द्वन्द्व चाहने पक्ष अथवा समूहले राख्नुपर्छ ।

सरकारले मुलुकको स्थायित्व र सुरक्षालाई चुनौती दिनेहरूसित सम्झौता गर्नुहुँदैन । यिनीहरूलाई कानुनको कठघरामा उभ्याएर कारबाही नगरेसम्म यस्ता घटना दोहोरिइरहने छन् । प्रधानमन्त्री ओलीले आफ्नो गृहप्रशासनलाई शान्तिसुरक्षाको मामिलामा चुस्तदुरुस्त राख्नुपर्छ । हिजोको जस्तो अहिलेको सरकार अल्पमतको कमजोर होइन । दुईतिहाइ मत भएको बलियो सरकार हो । त्यसैले अल्पमतका अन्तर्राष्ट्रिय लगानी सम्मेलनपूर्व प्रधानमन्त्री ओलीले लगानी सुरक्षाका लागि आवश्यक कुराहरुका अतिरिक्त शान्तिसुरक्षाको मौजुदा अवस्था सुदृढ भएको विश्वासनीय वातावरण बनाउन कुनै कसर बाँकी राख्नुहुँदैन ।

Scroll to Top