चितवन, बैशाख २१ : भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन आँकलन अनुसार नभएको पाइएको छ।
रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा पत्रकारहरुसँगको कुराकानीमा सोचे जति सहयोग संकलन हुन नसकेको बताएका हुन्। निर्माण सम्पन्न गराउन तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा हालसम्म छ करोड रुपैँया संकलन भएको फाउण्डेसनले जनाएको छ।
अभियन्ता धुर्मुसले भने, ‘जुन रेसियोमा संकलन हुनुपर्ने थियो त्योअनुसार भएको छैन।’ आर्थिक संकलन अभियानले देश विदेशमा व्यापकता पाउँदै गइरहेको छ उनको भनाइ छ। ‘विदेसमा विभिन्न कार्यक्रम गरिरहेका छौँ,’ उनले थपे, ‘देशको सबै जिल्लामा कार्यक्रम भइरहेको छ, सरोकारपक्षसँगको समन्वयमा अभियानलाई सबै देशवसीसम्म पुर्याइरहेका छौँ।’
निर्माणको काम सुरु भएपछि सहयोग संकलन अझ धेरै जुट्दै जाने फाउण्डेसनले बताएको छ। अहिले मास्टर प्लानको काम सकेर डिपिआरको काम धमाधम भइरहेको छ। डिपिआर सक्नेबित्तिकै शिलान्यास गर्ने र भदौदेखि निर्माणको काम सुरु गर्ने तयारी भइरहेको छ। रंगशाला निर्माणको यो परियोजनालाई विकासको एउटा महत्वपूर्ण अभियानका रुपमा लिएर आ आफ्नो ठाँउबाट नेतृत्व गर्न सबै नेपालीसँग फउण्डेसनका अध्यक्ष धुमुर्ससले अपिल गरेका छन्।
अन्तराष्ट्रिय सेवा सुविधाको रंगशाला चितवनको भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माण गरिने छ। अहिले शिलान्यास पूर्वको तयारी पूरा भएको फाउण्डेसनले जनाएको छ। रंगशाला निर्माणका लागि आवश्यक सामग्री भण्डार गर्न गोदाम, कर्मचारी आवास गृह, कार्यालय, प्रवेशद्वार, सुरक्षाकर्मी बस्ने पोष्ट, रंगशाला निर्माणस्थल क्षेत्र वरिपरि जस्ताको बार लगायत पूर्वतयारीका सम्पुर्ण काम सम्पन्न गरेको छ।