बेलाको सदुपयोग गर

 

देशका प्रमुख दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसमा आन्तरिक कलह बढेर गएको छ । सत्तारुढ नेकपामा पार्टी एकीकरण र प्रमुख प्रतिपक्ष काँग्रेसमा गुटउपगुटबीच बर्चश्वको होडबाजी कलहको मुख्य कारण सतहमै देखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको दस महिना पार गरिसक्दा पनि शीर्ष तहमा एकीकरण भएको घोषणा गर्दा नै तीन महिनाभित्र जिल्ला तहदेखि तल्लो तह र जनवर्गीय संगठनको एकता गरिसक्ने गरिएको घोषणा कार्यान्वित हुन सकेको छैन । शीर्ष तहको एकीकरण भए पनि तलका तहमा एकीकरण हुन नसक्नु नेताहरुकै गुटउपगुटको स्वार्थले हो । पार्टी एकीकरणको टुँगो नलागेको हुँदा दुईतिहाइ बहुमत प्राप्त नेकपा सरकार मुलुक सञ्चालनमा प्रभावकारी बन्न सकेको छैन । पार्टीभित्र देखा परेका विभिन्न गुटउपगुटमा घर गरेको जे गरेर पनि राजनीतिक वर्चश्व हासिल गर्ने प्रवृत्तिले एकीकरण प्रक्रियालाई नै धरापमा पार्ने हो कि भन्ने आशंका पैदा भएको छ ।

त्यस्तै, प्रमुख प्रतिपक्ष कांग्रेसमा आफू निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको निर्वाचन सन्दर्भमा कलह देखिएको छ । पार्टी शीर्ष नेताहरू संरक्षित कार्यकर्तालाई नेतृत्वमा पुर्याउने होडमा छन् । पार्टी नेतृत्वले आफूलाई बलियो देखाउन भ्रातृ संगठनलाई विभिन्न नेतापिच्छै निर्मित गुटउपगुटमा विभाजित गरिदिएका छन् । काँग्रेसको केन्द्रीय कार्यालयमा निर्वाचनको पक्ष र विपक्षका विद्यार्थी नेताहरुबीच भएको झडपले यस कुराको पुष्टि गर्दछ । यही गुटउपगुटको कारण विद्यार्थी नेतृत्वले निर्वाचनबारे विवाद अझै मिलाउन सकेका छैनन् । लोकतन्त्रमा विश्वास गर्ने पार्टीले निर्वाचनबाट नेतृत्व चयन गर्ने परिपाटी बसाउन जोड दिनुपर्छ । पार्टीले टीका लगाएर नेतृत्व चयन गर्ने परिपाटीलाई निरुत्साहित गर्नुपर्छ । विधानबमोजिम महाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्छ । लोकतन्त्रप्रति आस्था र विश्वास भएको पार्टी काँग्रेसले लोकतान्त्रिक पद्धतिमार्फत आफूभित्र पैदा भएको कलहको बैधानिक समाधान खोज्नुपर्छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलभित्रको आन्तरिक कलहले राजनीतिक स्थिरता र स्थिर सरकारको अनुभूति गर्ने बन्दै गरेको वातावरणलाई क्षति पु¥याएको छ । यतिखेर सत्ता र विपक्ष दुवै संविधानअनुरूप कानुन निर्माणदेखि संरचनाहरू चुस्त बनाउनेतिर लाग्नुपर्ने बेला हो । राष्ट्र र जनतालाई ढुक्क भएर विकास र समृद्धिको मार्गमा हिंड्ने वातावरण निर्माण गर्ने बेला हो । आन्तरिक कलहलाई समाधान गरेर दुईतिहाइ बहुमतको सम्मान गर्न अग्रसरता लिने बेला हो यो । आशा गरौं सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेसले यो बेलाको सदुपयोग गर्न कुनै कसर बाँकी राख्नेछैनन् ।

Scroll to Top