काठमाडौं, बैशाख २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघरमा मनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै होइनन, जनताको सहभागितामै मनाइनुपर्छ’, उनले भने, ‘यो दिन परिवारमा पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए बच्चालाई यो दिवसको अवसरमा चकलेट दिनुहोस् । आजको त्यो चक्लेट खाने बच्चा भोलिको राष्ट्रपति हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडकै रुपमा मनाउनुपर्ने बताए । ‘केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेका छन् तर त्यो स्वीकार्य छैन’, उनले भने, ‘यो जनतामाथिको हमला हो, जनतामाथिको अपमान हो । यो आपराधिक कार्य र देशद्रोही कुरा हो ।’
जनता चुप लाग्दा प्रतिगामी तत्व सल्बलाउन थालेको भन्दै उनले जनता सचेत हुनुपर्ने अवस्था आएको बताए। ‘राजतन्त्रमा हुने जन्मसिद्धश्रेष्ठता पाखण्डी सिद्धान्त हो’, उनले भने, ‘गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक रुप हो, प्रतिस्पर्धी प्रणाली हो ।’
राष्ट्रपतिको भनाइ सही
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’भन्नु अन्तरराष्ट्रिय चलनअनुरुप भएको बताए ।
भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको बताए।
‘नेपालमा पनि त्यहीअनुरुप राष्ट्रपतिले भन्नु जायज हो’, उनले भने, ‘मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएको हो, यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न भएन ।’ ‘जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त हुने ?’, प्रधानमन्त्रीले प्रश्न गरे, ‘तर जनप्रतिनिधि राष्ट्रपतिले ‘मेरो’ भन्दा गलत हुने भनी गरिएका टिप्पणी नै गलत हुन्।’ रासस