• The Public Today
  • प्रधानमन्त्रीले भने, ‘प्रदेश सरकार केन्द्र मातहत हो, स्वतन्त्र सरकार होइन’


    काठमाडौं, बैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकार केन्द्र सरकार मातहत रहेको बताएका छन् । प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।

    नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले प्रदेश सरकारलाई केन्द्र सरकार मातहत जस्तो व्यवहार भएको भनी गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यो कुनै अनौठो कुरा नभएको बताए ।

    ‘अहिले ७६१ सरकार छन्, कुन सरकारले के गर्ने, सबै स्वतन्त्र सरकार होइनन् । कसैले भन्दै हुनुहुन्थ्ग्यो प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ’ उनले भने ‘केन्द्रको मातहत नै हो । संघीय सरकार, संघीय कानूनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र ?’

    प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’

    संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा पनि थिति बसाएको बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस