विनय बाह्रकोटी
इटहरी, बैशाख २६ : नेपाली कांग्रेसले देशैभरका ७७ वटै जिल्लामा सुरु गरेको जागरण महाअभियानमा सरकारको खराे आलोचना गरेको छ। त्यसैअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जागरण सभामा उपस्थित नेताहरुले हचुवाको भरमा सरकारले नागरिकता वितरण गरेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री महेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पछिल्लो समय नेपाल सरकारका गृहमन्त्रीले चिठ्ठी काटेर नागरिकता वितरण गरेको विषय गम्भीर भएको कांग्रेसले औंल्याएकाे छ।
नेता आचार्यले सरकार नहुने काममा मात्र उद्धत रहेको आरोप लागाए। उनले नागरिकता जस्तो संवेदनशील विषय कानुनीरुपमा हल गर्नुपर्नेमा चिट्ठीको भरमा वितरण गरिएकोले यसले देशमा संकटको वातावरण सिर्जना गर्ने आँकलन गरे।
समृद्ध मुलुक निर्माण गर्ने भन्दै भ्रष्टाचारलाई प्रसय दिने काममा सरकार लागेको नेता आचार्यकाे आराेप छ। वाइड बडी प्रकरणमा, निर्मला पन्त हत्या प्रकरण, बालुवाटार प्रकरण लगायत धेरै प्रकरणमा प्रधानमन्त्री आफैं बचाउमा लागेको उनले आरोप लगाए। यसैगरी भ्रष्टाचार र अत्याचारको बचाउमा सरकार लागेकोले सरकार मात्र हैन देश र लोकतान्त्रनै कमजोर बन्दै गएको उनले तर्क गरे। सरकारको यस्तै रबैयाको भण्डाफोर गर्नको लागि नेपाली कांग्रेस महाअभियानमा लागेको उनको भनाइ छ।
‘सरकार कानुन बनाएर भन्दा चिट्ठी लेखेर नागरिकता वितरण गर्दैछ,’ उनले भने, ‘न्यायाधीशहरु आन्दोलित छन्, पत्रकारहरु गिरफ्तारीमा पर्दैछन्, मानवअधिकारकर्मीहरु आन्दोलनको तयारीमा छन्। भ्रष्टाचारको बचाउमा प्रधानमन्त्री आफैं लाग्नु भएको छ। निर्मला पन्त बलात्कार र हत्याको दोशी पत्ता लागेको छैन। सरकार लाचार भएको छ।’
प्रतिपक्षीसँग सहकार्य र सल्लाह गर्नुभन्दा पनि निषेधको राजनीति गरेर प्रधानमन्त्रीले सरकारलाई झनै कमजोर बनाउन खोजेको उनकाे आराेप थियाे। समृद्ध मुलुक बोलेर मात्र नहुने र त्यसको लागी हृदय देखि नै योजना बनाउन लाग्नु पर्ने उनकाे भनाइ छ।
‘हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस, राष्ट्रिय जागरण कार्यक्रम’ बैसाख २५ बाट सुरु भई जेठ ११ गतेसम्म चल्नेछ। याे पहिलाे चरणकाे अभियान हाे। अभियान तीन चरणसम्म चल्ने कांग्रेसले जनाएकाे छ।