द पब्लिक टुडे समाचारदाता
काठमाडौं, फागुण १९ गते ।
सरकारले नेपालमा सामाजिक सञ्जालमा कडाई गर्ने उदेश्यले प्रस्ताव गरेसंगै यसको चर्को आलोचना भयो । यही बिषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल बन्द गर्न लागेको भन्ने समाचारहरु प्रकाशनमा आएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको स्पष्ट पारेको छ । आईतवार एक विज्ञप्ति जारी गर्दे सूचना विभागको नाम राखी सामाजिक सञ्जाल बन्द गर्न लागेको भन्दै समाचार प्रकाशन गरेपछि मन्त्रालयले यसबारेमा स्पष्ट पारेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गर्दे सरकारले यसबारेमा कुनै पनि सूचना प्रकाशित नगरेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ” ।
“यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन” । गलत सूचना प्रवाह गरी भ्रम फैलाउनेमाथि कारवाहीको प्रक्रियासमेत सुरु भएको विज्ञप्तिमा उल्लेख छ । साथै त्यस्ता समाचारहरु तत्काल हटाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।