देशभर चर्को गर्मी, नेपालगञ्जमा ४३ डिग्री, काठमाडौंमा वर्षकै उच्च

काठमाडौं, बैशाख २७ : तीन दिनदेखि पानी नपरेपछि देशभर चर्को गर्मी भएको छ। पानी नपरेकाले नेपालगञ्जको तापक्रम ४३ डिग्री पुगेको छ भने काठमाडौंमा पनि उच्च गर्मी छ।

साताअघि बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी ‘फानी’को प्रभावले पानी परेको थियो । त्यसयता पानी नपर्दा गर्मी बढेको हो। बर्षातको सिजन सुरु हुन लागे पनि तर केही दिनदेखि देशभरको मौसममा परिवर्तन आएर गर्मी बढेको हो।

अहिले देशका अधिकाशं भागमा तापक्रम बढेसँगै गर्मीले सताएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म पानी नपर्ने जनाएको छ। देशभरको मौसम केही दिनदेखि सफा छ। दिनभरिको चर्को गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ। तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार पहाडी भूभागमा साँझतिर आंशिक बदली हुने सम्भावना छ। तर पूर्व, मध्य र पश्चिम तराई तापक्रम अझै उच्च हुने महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन्। ‘अझै केही दिन पानी पर्ने सम्मभावना एकदमै कम छ, जसले गर्दा गर्मी अझै बढ्न सक्छ’, उनले भने, ‘अब मनसुन सुरु हुने बेलामा मात्रै मौसम बदली भएर वर्षा हुन्छ। त्यसयता ठूलो बर्षा हुने अवस्था छैन’, पौडेलले भने।

नेपालमा सामन्यत: जुन १० बाट मनसुन सुरु हुने गर्छ। कहाँ कति गर्मी? महाशाखाले दिएको पछिल्लो विवरण अनुसार केही दिनयता देशका प्राय: सबै भूभागको तापक्रम बढ्दै गएको छ। जसले गर्मी बढाउँदै लगेको छ। हालसम्म नेपालगन्जमा सबैभन्दा धेरै गर्मी नेपालगन्जमा रहेको छ। नेपालगन्जको तापक्रम हाल ४३ डिग्री सेन्सियस रहेको छ।

त्यसपछि सबैभन्दा धेरै गर्मी धनगढीमा छ। धनगढीको तापक्रम शुक्रबार ४२.८ डिग्री सेल्सियस छ। दिपायलकोको तापक्रम ४०.३ डिग्री छ। यस्तै २४ घन्टामा भैरहवाको तापक्रम ३८ डिग्री छ। बिराटनगर, पोखरा, दाङ र डडेलधुराको तापक्रम ३७.७, ३१.८, ३७.७ र २९ डिग्री सेल्सियस रहेको छ। उपत्यकामा पनि चर्को गर्मी काठमाडौं उपत्यकामा पनि वर्षकै चर्को गर्मी भएको छ। महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम वर्षकै उच्च ३१.३ डिग्री पुगेको छ। चर्को गर्मीसँगै उपत्यका र बाहिरका जिल्लामा सरुवा रोगका विरामीहरु बढेका छन् । उपत्यकामा हैजाका समेत विरामी भेटिएका छन।