राजविराज विमानस्थल पुनः सुचारु, हप्ताको सातै दिन उडान

सप्तरी, बैशाख २९ : पछिल्लो चैत्र १८ गतेदेखि विमान उडान कटौती भएको सप्तरीको राजविराजस्थित विमानस्थलबाट आइतबारदेखि हप्ताको सात दिन संचालन हुने गरी पुनः श्री एयरलाइन्सले सेवा सञ्चालन सुचारु गरेको छ।

श्री एयरलाइन्सका राजविराजस्थित कार्यालयका मार्केटिङ व्यवस्थापक किरणकुमार यादवका अनुसार आइतबार ३ बजे काठमाडौंबाट ४७ जना यात्रु बोकेर आएको श्रीएयरलाइन्सको जहाज राजविराज विमानस्थलमा अवतरण गरी ३६ जना यात्रु बोकेर ३ बजेर २४ मिनेटमा काठमाडौंका लागि उडेको छ।

पछिल्लो जेठ ९ गते श्री एयरलाइन्सको परीक्षण उडान सफल भएसँगै त्यसको एक महिनापछि तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राजविराज विमानस्थलको उद्घाटन गरेका थिए। विमानस्थल उद्घाटनसँगै श्री एयरलाइन्सको ५० सिट यात्रु क्षमता भएको विमानले हप्ताको शनिबार र मंगलबार बाहेक पाँच दिन उडान भर्दै आएको थियो। करिब पाँच महिना सेवा संचालनपछि एयरलाइन्सले प्राविधिक कारण देखाउँदै पछिल्लो चैत १८ देखि हप्तामा तीनदिन मात्र उडान भर्दै आएको थियो।

यस्तो छ विमानस्थलको इतिहास
विसं २०७३ असोजदेखि निर्माण थालनी गरिएको विमानस्थल स्तरोन्नति र पक्की धावन मार्ग निर्माण सम्पन्न भएपछि विमानस्थल २०७५ असार १० गतेदेखि विधिवत् रुपमा संचालनमा आएको हो। विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार ५०० मिटर र ३० मिटर चौडा बनेपछि निजी विमान कम्पनी श्री एयरलाइन्सले राजविराजबाट सेवा दिन थालेको थियो।

राजविराज बजारदेखि चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका (साविक इटहरी विष्णुपुर) मा रहेको विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएपछि वि.सं. २०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले राजविराज विमानस्थलको शिलान्यास गरेका थिए।

कच्ची धावन मार्गका कारण पटक-पटक सञ्चालन र बन्द हुँदै आएको राजविराज विमानस्थलमा २०५२ साल वैशाखदेखि उडान ठप्प भएको थियो।