महोत्तरी, बैशाख ३० गते ।
इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ ।
चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।
रोहित शर्मा कप्तान रहेको मुम्बई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सलाई १ रनले पराजित गर्दै आइपिएल सिजन १२ को च्याम्पियन बनेको हो। निक्कै रोमाञ्चक खेलको निर्णय अन्तिम बलमा भएको थियो।
हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल प्रतिस्पर्धामा मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नई सुपरकिंग्सका लागि सेन वाट्सनले ८० रन, फाप डू प्लेसिसले २६ र डिजे ब्राभोले १५ रन बनाउनुका अलवा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मुम्बईका लागि जसप्रित बुमराहले २, लाथिस मालिंगा, राहुल चहर र कुणाल पाण्ड्याले समान १-१ विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले गत सिजनको विजेता चेन्नई सुपरकिंग्ससामू १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो।
मुम्बईले मध्यम स्कोर खडा गर्ने क्रममा किरोन पोलार्डले नटआउट ४१ रन बनाएका थिए। उनले २५ बल खेलेका थिए। त्यस्तै क्विन्टन डी काँकले २९ रन बनाएर आउट भएका थिए।
२० ओभरमा ८ विकेट गुमाएको मुम्बईका लागि इशान किसनले २३ रन बनाएका थिए। चेन्नईका बलरहरूले तीव्र गतिको बलिङ गरेर मुम्बईका खेलाडीलाई सुरुदेखि नै दबाबमा पारेका थिए।
चेन्नईका दीपक चहरले ३, शार्दुल ठाकुर र इमरान ताहिरले समान २-२ विकेट लिएका थिए। यो जितसँगै मुम्बई आइपिएलको सर्वाधिक सफल टिम बनेको छ।
मुम्बई यो पटकसँगै चौथो पटक आइपिएलको च्याम्पियन बनेको हो। दोस्रोमा चेन्नई सुपरकिंग्स रहेको छ। चेन्नई तीन पटक आइपिएलको च्याम्पियन बनेको छ।