प्रकोप र क्षति न्यूनीकरणका उपाय

सम्पादकीय, जेष्ठ २ गते । प्राकृतिक प्रकोपका कारण लार्खौ नेपालीले वर्षेनि पीडा सहनुपर्छ । बाढीपहिरो, भूकम्प, आगोलागी, शीतलहरलगायतका प्राकृतिक प्रकोप नेपालमा मात्र नभई संसारका विकसित देशहरूमा समेत हुने गर्छन् तर सरकारले उचित ध्यान दिएको खण्डमा क्षति कम गर्न सकिन्छ। हामीकहाँ विपद्का बेला केही दिनसम्म क्षति न्यूनीकरणबारे छलफल र बहस मज्जाले गरिन्छ । तर पछि केही गर्नुपर्दा कोही अघि सर्दैनन् । जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढी देखिएको छ । साथै सावधानी अपनाउन जनचेतना फैलाउने काम प्रभावकारी बन्न सकेको छैन । यसमा सुधार गर्न जरुरी छ । आगोलागी , हावाहुरी र लूको मौसम हो अहिले । यसपछि वर्षायाम सुरु हुँदैछ । बाढीपहिरोको प्रकोपले वर्षेनि लाखौं नेपाली पीडित र प्रभावित हुन्छन् । समयमै त्यस्तो प्रकोप र त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी गर्नुपर्छ ।

प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । नेपालमा बाढीपहिरो, हुरी, भूकम्पलगायतका प्राकृतिक प्रकोपको उच्च जोखिम छ भन्ने जान्दाजान्दै पनि त्यसबाट हुने क्षति न्यूनीकरणका लागि ठोस कदम चालिएको छैन। सधैँ उद्धार र राहतमा ढिलासुस्ती हुने गर्छ। प्रकोप र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न यसमा सुधार आवश्यक छ । त्यस्तै समयमै सूचना नपाएका कारण बढी जनधन क्षति हुने भएकाले मौसम एवं बाढीपहिरोबारे पूर्वजानकारी दिने नवीन प्रविधि भित्र्याउनुपर्छ । ठूलो वर्षा, हावाहुरी आउने जानकारी दिन मौसम पूर्वानुमान महाशाखामा २४सै घन्टा दक्ष जनशक्ति खटाउनुपर्छ। टेलिकमसँग समन्वय गरेर सरकारले सम्बन्धित क्षेत्रमा मोबाइलमा एसएमएस पठाउने तथा रेडियो, टिभिलगायत सञ्चारमाध्यमबाट खतराबारे जानकारी गराउनुपर्छ। अनि अत्यन्त जोखिम देखिएको अवस्थामा मानिसलाई सुरक्षित ठाउँमा सारिनुपर्छ। साथै स्वयम् नागरिकले पनि आफ्नो सुरक्षानिम्ति बढी सजग हुन आवश्यक छ ।

कुनै पनि प्रकोपपछि राहत तथा उद्धारमा जोड दिनुपर्छ। सरकारले विभिन्न संघ, संस्था, नागरिकसँग समन्वय गरेर एकद्वार प्रणालीमार्फत छिटो राहत दिने व्यवस्था मिलाउनुपर्छ। उद्धार तथा राहतका लागि उपकरण तथा खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सबै सामान तयारी अवस्थामा राख्नुपर्छ। प्रकोपको परिस्थित र पीडितको अवस्था हेरेर खाद्यान्न, लत्ताकपडा, साना डुंगा तथा डुब्नबाट बचाउने टायरलगायतका सामग्री उपलब्ध गराउनुपर्छ। बाढीपहिरोपछि विभिन्न सरुवा रोगले महामारी रूप लिनसक्ने भएकाले शौचालय, चौपाया र शवहरूको व्यवस्थापन, शुद्ध पिउने पानीलगायतका कुरामा विशेष ध्यान दिन आवश्यक छ। पीडित परिवारलाई केही लाख रुपैयाँ दिने परम्परा भने अब तोडिनुपर्छ ।

अहिले बारा–पर्साका हुरीपीडितलाई ३ लाख, ५ लाख दिने कुरा नेताहरूले बताइरहेका छन्। उनीहरूलाई नगद दियो भने उक्त रकम खाना र लत्ताकपडामा नै सकिने अवस्था हुन्छ। घरटहरा कच्ची भएपछि सधैँ जनधनको क्षति हुन्छ। प्राकृतिक प्रकोप आफैँले भन्दा पनि मानिसले बनाएका भौतिक संरचना तथा प्राकृतिक स्रोत दोहनले जनधनको बढी क्षति हुने गर्छ। तसर्थ सरकारले भविष्यका निम्ति सामूहिक अनि भूकम्पप्रतिरोधी बलिया घरहरू बनाएर हस्तान्तरण गर्नुपर्छ। जसले शीतलहर, बाढी, भूकम्पबाट पनि जोगाउने छन् ।