कञ्चनजंघा हिमाल आरोहणका क्रममा २ भारतीयको मृत्यु

काठमाडौ, जेष्ठ २ गते । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन्। पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो।


कञ्चनजंगा आरोहणको क्रममा ज्यान गुमाएका दुई भारतीय नागरिक कुन्ताल करार (बाँया) र विप्लव वैद्य (दाँया) । तस्बिर स्रोत : पीक प्रमोशन

त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। निर्देशक शेर्पाका अनुसार, उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ।

यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइने कम्पनीले जनाएको छ। हराएका रोडरीगोको खोजी भइरहेको छ। यस सिजनमा यस कम्पनीबाट कञ्चनजंघा आरोहणमा चारवटा आरोहण दल गएका थिए। तीनमा २३ आरोही थिए।

यीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीबार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याउने तयारी गरीरहेको छ । साभार : कान्तिपुर


Scroll to Top