नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, जेष्ठ २ गते ।  अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’ मा बिहीबार खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रवन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताए ।

नेपाल यतिखेर विदेशी प्रविधि र लगानीलाई भिक्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नेत्रममा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले भने ‘हामीले कानूनी व्यवस्थामा आमूल सुधार गरेका छौँ । एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनसमेत कार्यान्वयनमा आइसकेको छ ।’

संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको बताए ।

नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

Scroll to Top