बालक हत्या प्रकरण : पीडित परिवारलाई भेटेर कानूनमन्त्रीले भने ‘अपराधी छिट्टै पक्राउ पर्छ’

 

विजय कुमार सिंह
ढल्केवर, जेष्ठ ५ गते ।
धनुषाको ढल्केवरमा घाँटी रेटी हत्या गरिएको अबोध बालक आर्यन साहको परिवारसंग प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले भेट गरेका छन् । जिल्लाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहको अढाई वर्षिय छोरा आर्यनको हत्याको घटनाबारे जानकारी लिन मन्त्री यादवसहित मानवअधिकारवादी संस्था इन्सेक नेपालका प्रतिनीधिहरु पीडित परिवारको घरमा पुगेका थिए ।

शनिवार पीडित परिवारसँगको भेटमा मन्त्री यादवले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले अढाई वर्षिय अबोध बालकको हत्यारा कुनै पनि शर्तमा उम्कन नसक्ने बताए । प्रहरी प्रशासनले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेकोले अपराधी छिट्टै पक्राउ पर्ने मन्त्री यादवले विश्वास दिलाए । उनले प्रहरी प्रशासन र प्रदेश सरकारले यस घटनालाई गम्भिरता पूर्वक लिएको बताए ।

गत वैशाख २३ गते सोमवार घर अगाडी खेलिरहेका अबोध बालक आर्यनको साँझ करिब साढे पाँच बजे अपराधीहरुले अपहरण गरेर बेपत्ता बनाएका थिए । भोलीपल्ट मंगलवार विहान उनको शव घर पछाडीको बगैंचामा फेला परेको थियो ।

यस्तै, मानव अधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले समेत घटनाको स्थलगत अनुगमन तथा अनुसन्धान प्रक्रियाबारे जानकारी लिएको छ । शनिवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवान, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा सहितको टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको छ । टोलीले अनुसन्धान प्रक्रियाबारे इलाका प्रहरी कार्यालय ढल्केवरसँग जानकारीसमेत लिएको थियो ।

यता, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले घटनाको अनुसन्धान भइरहेको बताए । अनुसन्धानका क्रममा केही व्यक्तिलाई हिरासतमा लिई सुक्ष्म अनुसन्धान थालेको जानकारी दिए । उनले अपराधीलाई संरक्षण नगर्न र घटनाबारे कसैले केही देखेको, सुनेको भएपनि प्रहरीलाई सहयोग गर्न निरीक्षक राईले आग्रह गरे । ‘यत्रो घटना हुँदा बस्तीमा पक्कै पनि कसैले केही न केही ’क्लु’ दिन सक्थ्यो । तर स्थानीयहरु केही पनि बोल्न मान्दैनन् । यद्यपि हामी अनुसन्धान गर्दैछौं, दोषीलाई कानुनी परिधिमा ल्याएर छोड्छौं ।’

प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा पर्छ । यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका मृतक बालकका बाबु शम्भु साह शनिबार घर आइपुगेका छन् । उनले आफूले छोराको बोलीसमेत सुन्न नपाई गुमाउनु परेको पीडा कसरी व्यक्त गरुँ भन्दै बिलौना गरे । घटनाबारे खबर प्राप्त भएपछि तत्काल आउन खोजेका थिए, तर पासपोर्टको म्याद सकेर दूतावासमा निवेदन दिएका थिए । पासपोर्ट हातमा नहुँदा आउन ढिला भयो ।

मृतक बालककी १२ वर्षीया दिदी अर्चना साहका दिन पनि रोएरै बित्न थालेको १३ दिन पुगिसकेको छ । ‘आब हम केकरा भाइ कहबै, हम केकरा जोरे खेल्बै (अर्थात् अब कसलाई भाई भन्ने ? कोसँग खेल्ने) भन्दै रोएर बसेकी छिन् ।

एकातिर प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान संचालन गरेको छ भने अर्कोतिर बालबालिकालाई सुरक्षा दिन सरकार चुकेको छ । एकपछि अर्को हिंसात्मक घटनामा ज्यान गुमाउनु परेको अवस्थाले सरकारको चुस्तता चुनौतीमा परेको छ । यसैबीच, बालकको हत्या भएको १२ दिन बितिसक्दा समेत अपराधी पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनलाई दबाब दिन शनिवार ढल्केवरमा ¥याली निकालिएको छ । बालकको हत्यामा संलग्न दोषीलाई छिटो भन्दा छिटो पक्राउ गर्न माग गर्दै ढल्केवर दारी ग्याङ्गको आयोजनामा ¥याली निकालिएको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top