राजपाले गर्‍यो विधान संशोधन : महाधिवेशनपछि एकमात्र अध्यक्ष हुने

काठमाडौं, जेष्ठ ५ गते । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगले दिएको म्यादभित्र महाधिवेशन गर्न नसकेपछि पार्टीको बैधानिकता जोगाउन विधान संशोधन गरेको छ । राजपा नेपालको विधान २०७४ मा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो ।

पार्टी विधानअनुसार निर्वाचन आयोगले २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो । तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो ।

असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ (१०) मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको हो ।

पार्टीको वैधानिकता जोगाउन विधान संशोधन गरेर ३ वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था गरेको हो एक नेताले जानकारी दिए । राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । विधान संशोधन नगर्दा राजपालाई २०७६ असार मशान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता थियो ।

यस्तै, पार्टीको महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने भएको छ। हाल अध्यक्ष मण्डलबाट संचालनमा रहेको पार्टी महाधिवेशनपछि भने एकमात्र अध्यक्ष प्रणालीमा सञ्चालन हुने भएको हो।

जेठ २ देखि ५ गतेसम्म बसेको अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको छ । विधानको दफा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था राखिएकोमा त्यसलाई हटाएर एकल अध्यक्ष रहने व्यवस्था गरेको हो ।

प्रेस विज्ञप्ति


Scroll to Top