प्रदेशलाई पंङ्गु बनाउने खेल स्वीकार्य छैन : मुख्यमन्त्री राउत(भिडियो सहित)

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फाल्गुण २० गते ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक सुरक्षाको नाममा संघीय सरकारले प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाएका छन् । चेतना नेपालद्वारा आईतवार जनकपुरमा आयोजित ‘संघीयता कार्यान्वयन’ बिषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले संविधान विपरित आन्तरिक सुरक्षासम्बन्धी विधेयक ल्याएको बताए ।

प्रदेशमा समानान्तर सरकार चलाउन संविधानले नचिन्ने प्रमुख जिल्ला अधिकारीलाई प्रहरी प्रशासन परिचालनको जिम्मा दिन खोजिएको उनले बताए । ‘यो संविधान विरोधी हो, यसले संविधान कार्यान्वयन हुन सक्दैन’, उनले भने, ‘यदि कसैले सोच्छ, संघीयता र प्रदेशलाई पंगु बनाएर विकास युनिटमात्र बनाउँछौं भने अरुलाई स्वीकार्य होला । प्रदेश २ को सरकारलाई स्वीकार्य हुँदैन ।’

’सयौं मधेशीको बलिदानीबाट प्राप्त संघीयता समाप्त गर्ने षडयन्त्र कँही कतै बाट भएपनि त्यस्ता गतिविधि विरुद्ध प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुन्छ,’ उनले भने, ’संविधानको अक्षरसः पालना नै अहिले प्रमुख आवश्यकता हो । संविधानको भावना विपरीत कुनै पनि गतिविधि भए सडक

र सदन मात्र नभई संवैधानिक अदालत समेत जान परे पछि हट्दैन ।’ कार्यक्रममा राष्ट्रिय जनता पार्टी ( राजपा) का अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरले पनि संघीयता कार्यान्वयन गर्न नचाहेको भन्दै केन्द्र सरकारको आलोचना गरे ।

चेतना नेपालका अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेकपाका नेता रामचन्द्रमण्डल, पूर्व सभासद डा. विजयकुमार सिंह, नागरिक समाजका असगर अलीलगायतका वक्ताले धारणा राखेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस