प्रदेश ३ को नाम नेवा-तामसालिङ राख्‍न प्रस्ताव दर्ता

 

हेटौंडा, जेष्ठ ९ गते । प्रदेश ३ को नाम नेवा:-तामसालिङ राख्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेमबहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम
नेवा:- ताम्सालिङ राख्नुपर्ने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम नेवा:-ताम्सालिङ राख्नुपर्ने उनको भनाइ छ ।

यसअघि ३ नम्बर प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने भन्दै प्रदेश सभा सदस्य विशाल खड्काले प्रस्ताव दर्ता गरिसकेका छन् । प्रदेश ३ को नाममा बाग्मती, नेपाल मण्डल र पाशुपत लगायत चर्चामा छन् ।

Scroll to Top