लुटपाट गर्न आएका ८ भारतीय डाका यसरी परे प्रहरीको फन्दामा

 

शैलेन्द्र क्रान्ति
जनकपुरधाम, जेठ ९ गते । 

जनकपुरमा डकैती गर्न आएका ८ जना भारतीय पेशेवर डाकालाई धनुषा प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । योजना बनाएर जनकपुरधाम उपमहानगरपालिका ८ विहारकुण्ड स्थित जानकी विहार कुट्टीमा बुधबार राति सबा ९ बजे सुनचाँदीका गरगहना र नगद लुट्न आएका उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गर्न सफल भएको हो । स्थानीय लबली होटेलमा बसेर डाका गर्दैछन् भन्ने पूर्व सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा प्रहरी र डाका समुहबिच घम्साघम्सी भएको थियो । त्यस क्रममा गोली फायर गरी डाकाहरु भाग्न खोज्दा जवाफमा प्रहरीले चलाएको गोली लागेर एकजना डाँका घाइते समेत भएका छन् । घाइते हुने डाका भारत विहार प्रदेश समस्तीपुर जिल्ला गोदुपुर बस्ने रंजित मल्लिकका २० वर्षका छोरा रवि मल्लिक डुम रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उनको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ ।

यस्तै पक्राउ पर्नेहरुमा विहार समस्तीपुर जिल्ला सिमरी ८ बस्ने २० वर्षका साहिल रजक, वडा नं. ३ बस्ने वर्ष २४ का अजित कुमार सिंह, भगवानपुर चकसीव वडा नं. ४ बस्ने २८ वर्षका सुजित कुमार राय, महोदीनगर वडा नं. ६ बस्ने ३० वर्षका अमिकुमार सिंह र त्यसै वडामा बस्ने २० वर्षका अमितकुमार यादव छन् । यस्तै मधुवनी जिल्ला सहारघाट ५ बस्ने ३२ वर्षका रंजितकुमार भगत र वडा नंं ८ बस्ने वर्ष ३८ का पप्पु भन्ने संजयकुमार सुमन रहेका छन् । सुमनलाई भने भाग्ने क्रममा मठिहानीबाट पक्राउ गर्न सफल भएको उपरीक्षक खनालले जानकारी दिनुभयो ।

उनीहरु बीआर ३२ एस ०८९५ र बीआर ३२ आर ८२१३ नम्बरको मोटरसाइकल र बीआर ०७ एजी १५८१ नम्बरको स्कुटर लिएर लुट्न जनकपुर पसेका थिए । डाकाहरुले लुट्न प्रयोग गरेका मेडईन युएसए लेखेको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्याग्जिन १ र गोली २ थान, कटुवा पेस्तोल १ थान र त्यसको गोली १ थान, खुकुरी १ थान, मोवाइल ३ थान लगायत बरामद भएको छ ।

पक्राउ परेका डाकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरु कुट्टीमा लुटपाट गर्न पसेको पूर्व सूचनाको आधारमा प्रदेश प्रहरी, संघीय प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले घेरा हालेर उनीहरुलाई पक्राउ गर्न सफल भएको उपरीक्षक खनालले बताउनुभयो । 

पक्राउ परेकाहरु भारतमा पेशेवर डाकारहेको खुलेको उपरीक्षक खनालको भनाई छ ।
उपरीक्षक खनालका अनुसार उनीहरुमाथि लुटपाट तथा खरखजाना ऐन कसुरमा कार्वाही प्रक्रिया अघि बढाएको र थप अनुसन्धान भइरहेको छ ।

Scroll to Top