भक्तपुरको एक फर्निचर उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

प्रतिकात्मक तस्वीर

भक्तपुर, फाल्गुण २० गते । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारस्थित डाँफे टोलमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा गएराती भीषण आगलागी भएको छ । आगोले स्थानीय राजु श्रेष्ठको फर्निचर उद्योग पूर्णरुपमा नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उद्योग सञ्चालक श्रेष्ठले आगलागीबाट करिब पाँच करोड रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको जानकारी दिएका छन् ।भक्तपुर प्रहरीकाअनुसार फर्निचर उद्योगबाट सुरु भएको आगोले उद्योगी श्रेष्ठको घरसहित तीनवटा घरमा क्षति पु¥याएको छ ।

परिसरले उद्योगी श्रेष्ठ र छिमेकी प्रदीप सिलवाल दुवैको चारतले पक्की घरको पछाडीको भागमा आंशिक क्षति पुगेको जनाएको छ । त्यस्तै अर्का छिमेकी दुर्गा श्रेष्ठको घर कम्पाउण्डमा रहेको टहरामा मंगल श्रेष्ठले सञ्चालन गरेको कुल्फी उद्योगमा समेत आगो सल्कन गई क्षति पुगेको परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार करिब १५०सुरक्षाकर्मी, सातवटा वारुण यन्त्र र स्थानीयको निरन्तर प्रयासपछि ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिइएको छ ।  आगलागीबाट मानवीय क्षति नभएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

आगो नियन्त्रणका लागि परिसरबाट प्रहरी उपरीक्षक श्रेष्ठको नेतृत्वमा ६५ जना प्रहरी खटिएका थिए । त्यस्तै सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणबाट ६५ जना सैनिक र दुवाकोटस्थित सशस्त्र प्रहरी गणबाट ३५ जना सशस्त्र प्रहरी परिचालन भएको परिसरले जनाएको छ ।

भक्तपुर, काठमाण्डौ, ललितपुर, नेपाली सेना र नेपाल प्रहरीको गरी सात वटा दमकल आगो नियन्त्रणकामा खटिएका थिए । स्थानीय खानेपानीका ट्यांकरको प्रयोग गरी सहयोग गरेका थिए ।

आगलागी भएको कुरा राती सवा एघार बजे थाहा भएको थियो । आगलागी सोमबार बिहान ४ बजेमात्रै नियन्त्रणमा लिन सकिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

‘आगो नियन्त्रणमा आए पनि केमिकल र काठको भुसबाट धुँवा आइरहेकाले २ वटा दमकललाई घटनास्थलमै तयारी अवस्थामा राखेका छौं’, उनले भने, ।
उनकाअनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ । क्षति संकलन भइरहेको र  आगलागीबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

यता फर्निचर व्यवसायी राजु श्रेष्ठले भने आगलागीबाट आफ्नो करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन् । आगलागीले तयारी फर्निचर, बनाउँदै गरेको फर्निचरका सामग्री, काठलगायत सबै जलेर नष्ट भएको उनले बताए ।

प्रहरीले आगलागीको कारणसमेत थाहा पाउन नसकिएको बताएको छ ।
‘के कारणले आगलागी भएको हो थाहा हुन सकेको छैन’, परिसरका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘शिवरात्रीको पूर्वसन्ध्या भएकाले धुनी जगाएको आगो फैलिएको हो कि विद्युत सटबाट आगलागी भएको हो अनुसन्धान गर्दैछौं ।’

उनले उद्योगमा राती कोही बस्ने नबस्नेसमेत थाहा पाउन बाँकी भएको जानकारी दिए ।

Scroll to Top