जनकपुरधाम, जेष्ठ १४ गते । प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यवहार अनुगमन गरिने भएको छ । यसका निम्ति आचरण अनुगमन समिति बनाइएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ ।
बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । समितिको उप सभापतिमा उपसभामुख उपमा देव रहेका छन् । प्रदेशसभा सदस्यहरु रामाशिष यादव, सुरिता साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाह, सावित्रीदेवी साह सदस्य रहेका छन् ।
प्रदेशसभा सचिवलाई समितिको सदस्य सचिवमा राखिएको छ । यो समितिले सांसदहरुको आचरण र व्यबहार अनुगमन गर्दै गल्ती गर्नेलाई कारबाहीसमेत गर्न सक्नेछ । यसअघि प्रदेशसभाको गत शुक्रबारको बैठकमा सभामुख यादवले मोवाइलको स्वीच अफ राख्न सांसदहरुलाई रुलिङ गरेका थिए । सभामुख यादवले प्रदेशसभाको बैठकमा मोवाइलको स्वीच अफ गर्न भन्दै अफ गर्न नसकिए साइलेन्टमा राख्न भनेका थिए ।
प्रदेशसभाको बैठक चलिरहेकै समयमा चर्काे आवाजामा मोवाइलमा फोन आउने, बैठकमै मोवाइल चलाउने, फोनमा कुरा गर्ने र कुरा गर्दागर्दै बाहिर निस्किने क्रम बढेपछि सभामुख यादवले यस्तो रुलिङ् गरेका थिए ।