• The Public Today
  • शिक्षकमाथि बलात्कार आरोप : एकजना पक्राउ, अर्का फरार


    शिखर चिमौरिया
    काभ्रे, जेठ १६ :
    बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोही घटनाका अर्का अभियुक्त शिक्षक फरार छन् ।

    महाभारत गाउँपालिका–२ मा अवस्थित कालिदेवी प्राथमिक विद्यालयका शिक्षकद्वय रामेश्वर राम र रामजी दासले आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले रामेश्वर रामलाई पक्राउ गरेको हो । अर्का शिक्षक रामजी दास फरार भएका हुन् ।

    जेठ ९ गते माहाभारत गाउँपालिका–८ घर्तिछापमा भएको अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आएका विद्यार्थीहरुमाथि शिक्षकहरूले अनैतिक तथा अभद्र व्यवहार गरेको भन्दै पीडित विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायका अनुसार कार्यक्रम सम्पन्न गरी घर फर्कने क्रममा बास बसेकै ठाउँमा ती शिक्षकले ४ जना छात्रामध्ये एक छात्रालाई बलात्कारको प्रयास गरेको भन्दै उजुरी आइतबार पीडित विद्यार्थीसहित अविभावकले जाहेरी दिएका थिए ।

    पक्राउ परेका शिक्षक रामेश्वर रामलाई बाल यौन दुरुपयोग आरोपमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको रायले बताए । फरार शिक्षक रामजी दासको खोजी भइरहेको पनि उनले बताए ।

    विदार्थीहरूलाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षकद्वय रामेश्वर राम र रामजी दासलाई बर्खास्त गरेको प्रधानाध्यापक सुनील सारुले बताएका छन् । पक्राउ परेका शिक्षक रामेश्वर राम चक्रघट गाउँपालिका–७, सर्लाहीका हुन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस