अधिनायकबादी प्रणाली लाद्न खोजे आन्दोलन : निधि

जनकपुरधाम, जेठ १८ गते : वर्तमान सरकारले मुलुकमा निरंकुश कम्युनिष्ट अधिनायकबादी प्रणाली लाद्न खोजे आन्दोलन गर्ने चेतावनी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले िएका छन्।

नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानलाई धनुषाको ढल्केवरमा सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले सरकारले अदालत लगायत धार्मिक तथा समाजिक संघसंस्थामाथि कब्जा गर्न खोजेको भन्दै यस्ता गतिबिधि नरोकिए कांग्रेस आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन।‘ अहिलेको शासन प्रणाली संघीय लोकतान्त्रिक प्रणाली हो जुन कम्युनिष्ट सिद्धान्त विपरित छ,’ पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले भने, ‘सत्ता हाँकिरहेका ड्राइभरबाट देश दुर्घटना पर्न सक्छ।’

संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा मुलुकमा संघीय प्रणाली अनुसार काम नभएको उनको भनाई थियो। वर्तमान सरकारले स्थानीय र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफै राख्न खोजेकाले संघीयता खतरामा रहेको उनले उल्लेख गरे। ‘जबसम्म सातवटै प्रदेश सरकारको मातहतमा आइजीपी तहसम्मको प्रहरी अधिकारी र प्रहरी नियुक्ति तथा सरुवा, बढुवाको अधिकार हुँदैन तबसम्म संघीय प्रणाली चल्न सक्दैन,’ निधिले भने। 

नेपाली जनताको पक्षमा भएको क्रान्तिकारी आन्दोलनको अगुवाई कांग्रेसले गरेको बताउँदै निधिले जनताका लागि लड्ने पार्टी कांग्रेस मात्र भएको दाबी गरे। कांग्रेसले २०३६ सालमा जनमत संग्रहको बेला संविधान बन्दा नेपालका कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित नरहने गरी संविधान बनाउने बचन दिएको बताउँदै उनले जन्मसिद्ध नागरिकका सन्तालाई समेत नागरिकता दिने कुरा कांग्रेसले संविधानमा लेखेको दावी गरे। कम्युनिष्ट सरकारले संसद तथा अदालतलाई प्रभावमा पारेर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन आनाकानी गरेको उनले आरोप लगाए।

Scroll to Top