प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजानिक, यस्तो छ कार्यक्रम (पूर्णपाठसहित)

जनकपुरधाम, जेष्ठ १९ गते । प्रदेश २ को प्रदेशसभामा आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेश सरकारको तेश्रो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा अति नै महत्वकांक्षी योजनाहरु रहेको देखिएको छ । नीति तथा कार्यक्रममा एक सम्पर्क भाषाको कुरालाई मुख्य रुपमा उठाइएको छ भने संघीय सरकारको प्राधिकारमा रहेका सानो भन्सार कार्यालयलाई आफ्नो मातहत ल्याउने कुरा गरिएको छ । त्यस्तै प्रदेश सरकारको मातहतमा नभएका सिञ्चाइको लागि कमला डाईभर्सन तथा सुनकोशी डाईभर्सन निर्माणसम्मको आयोजना समेटिएको छ ।

नीति तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्मको २ सय ५० किलोमिटर सडक खण्डलाई मधेशी शहीद राजमार्गको रुपमा विकास गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘हाम्रो प्रदेश, उज्यालो प्रदेश नारा’का साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाट सौर्य उर्जा प्लान्टको स्थापना गर्ने जनाइएको छ ।

त्यस्तै एक जिल्ला एक नमूना परियोजना, कृषि प्रदेश अवधारणा, मुख्यमन्त्री किसान उत्थान योजना, प्रदेश क्षमता विकास केन्द्र स्थापना, विद्युतीय सुशासन, स्वच्छ प्रशासन योजना, प्रदेश सूचना प्रविधि पार्कको सम्भाव्यता अध्ययन, प्रदेश प्रेस काउन्सिल गठन, एक पालिका एक पोखरी सौन्दर्यीकरण, बीरगञ्ज विकास प्राधिकरण गठन, प्रदेश एनिमल ब्रिडिङ्ग सेन्टर, प्रदेश कृषि अनुसन्धान केन्द्रको स्थापना, चन्द्रनिगाहपुर–गौर, ढल्केबर–भिठ्ठामोड, ठोरी–वीरगञ्ज, नवलपुर–मलंगवा औद्योगिक कोरिडोरको सम्भाव्यता अध्ययन, एक जिल्ला एक औद्योगिक ग्रामको स्थापना, एक पालिका एक प्राविधिक शिक्षालयको गठन सहितका योजनाहरु समावेश गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न र हेर्न यहाँ क्लिक गर्नुहोस !

Scroll to Top