मिथिलाञ्चलमा हर्षोल्लाषका साथ वट सावित्री पर्व मनाउँदै

 

जनकपुरधाम, जेष्ठ २० गते । पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै जनकपुरधामलगायत मिथिलाञ्चलक्षेत्रमा आज महिलाहरु हर्षोल्लाषका साथ वट सावित्री पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी विधिपूर्वक पूजा गर्ने परम्परा छ।

पान, सुपारी, केरा, फलफूल, धुप लगायतका विभिन्न पूजन सामग्रीका साथ व्रतालु महिलाहरु वर र पिपलको रुखमुनि बसेर आफ्ना पतिको दिघार्यूको कामना गरी पूजापाठ गर्दै वर र पिपलको रुखमा रातो र पहेलो धागो बेर्ने गर्दछन् ।

वट सावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ समेत भनिन्छ। प्राचिन कालमा सती सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यस पूजा गर्न सुरु गरेको विश्वास रहिआएको महेन्द्रनगरका पुरोहित इन्द्रकान्त झाको भनाइ छ ।

उनका अनुसार सावित्रीले यो पर्व गरेकोले यमराजबाट पतिको प्राणलाई फिर्ता ल्याएको र पति जीवित भएको प्रसंग धार्मिक शास्त्रमा उल्लेख छ।

जेठ कृष्ण आमावस्या (औँसी)का दिन पतिको दीर्घायु र पारिवारिक सुख समृद्धिको कामना सहित नवविवाहिताले बिहान सूर्योदयसँगै ब्राह्मण पुरोहितलाई भोजन र दक्षिणा दिएर आफ्ना पतिलाई अभिषेक गर्दै वरसाइत पर्व मनाउँदै छन्। आजको दिन आफ्नो गाउँनगर नजिकको वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ ।

मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा ज्येष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ ।

Scroll to Top