जनचासो ः मेयर विदुरकुमार कार्कीले के के गरे ?


राजकरण महतो । बर्दिबास
विदुरकुमार कार्की बर्दिबास नगरपालिको नेतृत्वमा पुगेको २० महिना पुग्दैंछ । नागरिकहरुलाई थुप्रै आश्वासन बाँडेर चुनाव जिते थिए उनले । उनले तत्कालिन एकिकृत नेकपा माओवादीबाट उमेदवार बनेर मेयर पदमा जिते । उनको पार्टीले चुनावी घोषणा पत्र नै निकालेको थियो ।
बर्दिबासलाई शैक्षिक शहर बनाउनेदेखि प्रत्येक वडामा आवश्यक दक्षजनशक्ति, उपकरण र औषधीसहितको शहरी स्वास्थ्यकेन्द्रको स्थापना गर्ने उल्लेख गरिएको थियो ।

बर्दिबास नगरको वर्तमान अस्पताललाई आधुनिक उपकरणसहितको सय शैयाको अस्पतालमा स्तरोन्नती गराउन पूर्णपहल गर्ने भनेकोे थियो । यि र यस्ता धेरै कुरा उल्लेख गरिएको थियो, घोषणा पत्रमा । मेयरमा जितेका विदुरकुमार कार्की हाल के के काममा व्यस्त छन् , चुनावी घोषणा पत्र साँच्चिकै कार्यान्वय गरिरहेका छन् कि छैनन् यस्ता थुप्रै प्रश्हरु जनमानसमा उठिरहेको छ ।

तर, उत्तर भने कहिबाट आउँदैन । नागरिकको जान्ने, बुझ्ने र सुन्ने अधिकार छ । त्यसैले हामी आम नागरिकको सूचनको लागि हाल सम्म बर्दिबास नगरपालिकाले के– के ग¥यो र के–के गर्दैै छ भन्ने खोज्न र शान्त, समृद्ध एवंम सुन्दर बर्दिबास निर्माण महाअभियानमा सहयोग गर्न द पब्लिक टुडेले जनचासो स्तम्भ मार्फत सरकार र नागरिक बीच पुलको काम गर्न कदम चालेको छ ।

मेयर विदुरकुमार कार्कीको चुनावी घोषणा पत्र हामीले स्थानीय तहको चुनाव ताका प्रकाशित गरेका थियो । उनको त्यो घोषणा पत्रमा के के उल्लेख थियो, २० महिनापछी फेरी त्यो घोषणा पुनः प्रकाशित गरेका छौं । बहस गर्ने अभियानेको थालनी गरेका छौं ।

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले बर्दिवास नगरपालिकामा जारी गरेका
आदरणीय बर्दिवास नगरवासी आमाबुबा दिदिबहिनी तथा दाजुभाईहरु, नेकपा माओवादी केन्द्रले बर्दिवास नगरलाई सुन्दर शान्त र समृद्धिसहितको नमुना शहर बनाउन जनप्रिय, विकासप्रेमी र उर्जावान नेता क. बिदुर कार्कीको नेतृत्वमा बर्दिवास नगरका १४ वटै वडाहरुमा आफ्ना उमेदवारहरु खडा गरेको छ ।

हामी बर्दिवासलाई सबैखाले सुविधालेयुक्त आधुनिक शहर बनाउन चाहन्छौं, नगरवासी सम्पूर्ण जनतालाई स्रोत र साधनहरुको समानुपातिक र न्यायोचित वितरण गर्नेगरी समाजवादी अर्थव्यवस्थाको आधार तयार गर्न चाहन्छौं ।

बर्दिवासलाई सुविधासम्पन्न शैक्षिककेन्द्रको रुपमा विकास गर्ने, स्वास्थ्य विमा मार्फत निःशुल्क स्वास्थ्य सेवा लागु गर्ने, बर्दिवास नगरभित्रै रोजगार र स्वरोजगार सिर्जना गर्ने, खानेपानी समस्याको दिर्घकालिन समाधानको पहल गर्ने अनि बर्दिवासको अव्यवस्थीत बसोवासलाई व्यवस्थीत गरी जोतभोग र आधिकारीक स्वामित्वका आधारमा लालपुर्जा वितरण गर्नेलगायतका तल उल्लेखित योजना र प्रतिबद्धताहरु लागु गर्न आगामी २०७४अशोज २ गते हुन लागिरहेको स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिँया हथौडामा मतदान गरि विजय गराउन हुन सम्पुर्ण नगरवासी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

शिक्षा सम्बन्धी योजना
सम्बन्धन प्राप्त भईसकेको बर्दिवास मेडिकल कलेज र कृषि कलेजको भौतिक पूर्वाधार निर्माण र सञ्चालन प्रक्रियालाई गति दिने, बर्दिवास नगर भित्रै जमिन व्यवस्थापनको काम सम्पन्न गरि पोलिटेक्निकल कलेज स्थापना गर्ने ।


नगरक्षेत्रभित्र संचालित सबै माध्यामिक विद्यालयमा क्रमश प्राविधिक शिक्षा समावेश गरी प्रावि तहदेखि नै अंग्रेजी माध्यमद्वारा पठनपाठन तथा पर्याप्त भौतिक संरचना निर्माण र जनशक्ति व्यबस्थापन गर्दै नमूना विद्यालयको रुपमा विकास गर्ने ।

नेत्रहिन, सुस्तश्रवण, सुस्तमनस्थिति लगायत अपांगता भएका बच्चाहरुको विशेष शिक्षा दिने विद्यालयको स्थापना गर्ने ।

एक वडा एक पुस्तकालयको स्थापना गर्ने, संस्थागत विद्यालयहरुलाई व्यवस्थित र नियमन गर्ने ।

प्रत्येक वडामा मन्टेश्वरी र किन्डरगार्टेनको अबधारणामा आधारित बालगृह स्थापना गरि बच्चाहरुको सर्वाङ्गिण विकासका लागी शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने ।

आवश्यक्ताअनुसार मदरसा, गुम्बा र गुरुकुल शिक्षाको विकासमा पहल गर्ने ।

स्वास्थ्य सम्बन्धी योजना
रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिने तथा रोगहरुबाट बच्ने र बचाउने निति लिइनेछ । जस अनुरुप प्रत्येक वडामा स्वास्थ्य सम्बन्धी आवधिक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।

नगर क्षेत्रभित्रका सबै नगरवासीको निःशुल्क औषधी उपचारको व्यवस्था गर्न स्वास्थ्य विमा कार्यक्रम संचालन गरि सरकारी अस्पतालवाट निःशुल्क उपचारको व्यवस्था मिलाइने छ ।

दक्ष चिकित्सक सहित आधुनिक र सुविधासम्पन्न सर्पदंश उपचार केन्द्र निर्माण गर्न पहल गरिनेछ ।

एक वडा एक योग केन्द्र स्थापना गरि संचालन गरिने छ ।

प्रत्येक वडामा आवश्यक दक्षजनशक्ति, उपकरण र औषधीसहितको शहरी स्वास्थ्यकेन्द्रको स्थापना गरिनेछ ।

अति विपन्न, असहाय र वृद्धवृद्धाको दिर्घरोगहरुको उपचार गर्न नगर स्वास्थ्य कोष स्थापना गरि उपचारको व्यवस्था गरिने छ ।

मुटु, मृगौला र क्यान्सरजस्ता खर्चिलो तथा दिर्घरोगको उपचारको लागि दलित तथा विपन्नलाई पहिचान गरि रु. १ लाख नगद उपलब्ध गराउन पहल गरिने छ ।

बर्दिबास नगरको वर्तमान अस्पताललाई आधुनिक उपकरणसहितको सय शैयाको अस्पतालमा स्तरोन्नती गराउन पूर्णपहल गरिने छ ।

भू–नीति तथा भुमि व्यवस्थापन

वैज्ञानिक भूमि व्यवस्थापन र भूउपयोग नीति अबलम्बन गरिने छ ।

अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न कानुन निमार्ण गरी जोतभोग र आधिकारीक स्वामित्वका आधारमा लालपुर्जा वितरण गर्न पहल गरिनेछ ।

कृषि योग्य भूमिमाथि जोताहा किसानको स्वामित्वलाई सुनिश्चित गरिने छ ।

कुनैपनि खेतीयोग्य जमिन बाँझो राख्न र खण्डीकरण गर्न दिइने छैन । बाँझो जमिनलाई उत्पादनमुलक कार्यमा प्रयोग गरिने छ ।

भूमिलाई वर्गिकृत गरि आवास क्षेत्र, शहरी क्षेत्र, औद्योगिक क्षेत्र, कृषी क्षेत्र, वन क्षेत्र, सिमसार क्षेत्रहरुमा विभाजित गरि सोही अनुरुप भुउपयोग गरिने छ ।

कृषि सम्बन्धी योजना

कृषिलाई आकर्षक पेसाको रुपमा विकास गरि युवा कृषकहरु र कृषि फार्महरु निर्माण गर्ने नीति लिइने छ ।

कृषि उत्पादन बढाउन आधुनिक खेति प्रणाली अबलम्बन गर्दै आधुनिक कृषि औजार, प्रविधि र उन्नत जातको वीउविजन र मालखादको व्यबस्थापन गर्ने तथा कृषकलाई सहुलियत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने कार्यको व्यवस्था मिलाइने छ ।

कृषकहरुलाई नियमित आधुनिक कृषि तालिमको व्यवस्थापन गर्ने तथा नियमित सफल कृषि फार्महरुको भ्रमणको व्यवस्था मिलाइने छ ।

साविक माइस्थान र खयरमारालाई आर्गेनिक कृषि उत्पादन केन्द्रको पकेट क्षेत्रको रुपमा विकास गरिने छ भने किसाननगर, पशुपतिनगर र बिजलपुरालाई तरकारी र माछा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिनेछ ।

कृषि उपब्ज भण्डारण केन्द्र (चिस्यान केन्द्र) स्थापना र कृषि बजारको उचित व्यवस्था गरिने छ ।

पशु तथा कृषि विमाको सहज व्यवस्था गरि लागु गरिने छ । कृषि अनुदानको व्यवस्था गरिने छ ।

‘एक वडा, एक उत्कृष्ट कृषि फार्म’ निर्माणको नीति लागु गर्न उत्कृष्ट कृषकहरलाई पुरस्कारको व्यवस्था गरि प्रोत्साहन गरिने छ ।

कृषि पेसालाई मुल पेसाको रुपमा अपनाएको वास्तविक किसानहरुलाई कृषक परिचय पत्र वितरण गरि कृषक परिवारका सदस्यहरुलाई स्कूल, कलेज र अस्पतालमा विशेष छुटको व्यवस्था मिलाइने छ ।

व्यवसायिक पशुपालक किसानहरुलाई आधुनिक गोठ निर्माण गर्न २५ प्रतिशत अनुदान दिइने छ ।

सडक तथा यातायात व्यवस्था

बर्दिबास नगरलाई धुले सडकमुक्त बनाउने नीति अबलम्बन गरिने छ ।

प्रत्येक वर्ष कम्तिमा १५ किलोमिटर सडकलाई पक्की बनाउने कुरालाई प्राथमिकतामा राखिने छ ।
सडक निर्माण गर्दा ७ मिटर भन्दा चौडा निर्माणलाई विशेष प्राथमिकता दिइनेछ । िघना बस्ती भएको सडकलाई पहिलो चरणमा पक्कि गरिने छ ।

सबै किसिमका सडक कम्तिमा चार मिटरको हुनैपर्ने व्यबस्था लागु गरिनेछ ।

नगरक्षेत्र भित्रको यातायात व्यवस्थालाई सर्वसुलभ, अत्याधुनिक र सुविधा सम्पन्न बनाउने नीति लिइने छ ।

प्रत्येक वडाका प्रत्येक टोलबाट नगरपालिकाको केन्द्रसम्म आउने नगर बस तुरुन्त संचालन गरिनेछ ।

नगरको केन्द्रमा सुबिधासम्पन्न अत्याधुनिक बसपार्क निर्माण गरिने छ ।

बर्दिवास नगरका सबै वडाहरुलाई जोड्ने गरी बर्दिवास नगरस्तरीय चक्रपथ निर्माणको गुरुयोजना तयार गरि लागु गरिनेछ ।

खानेपानी तथा सिंचाई

स्वच्छ र शुद्ध खानेपानी सुलभ ढंगले पर्याप्त मात्रामा उपलब्ध गराउने नीति अवलम्वन गरिने छ ।

शुद्ध र स्वच्छ खानेपानीको श्रोतको व्यवस्थान र आवश्यक भण्डारणको व्यवस्था गरि सम्पूर्ण नगर क्षेत्रका प्रत्येक घरघरमा धारा मार्फत पर्याप्त खानेपानी वितरण गरिनेछ ।

सुनकोशी मरिन डाइभर्सन पछि मरिन खोलाको पानीलाई उपयोग गरि बर्दिवास नगरको खानेपानीको दिर्घकालिन समाधानका लागि पूर्ण प्रयत्न गरिने छ ।

हात्तिलेट, किसाननगर, विजलपुरा र पशुपतिनगरमा खानेपानी व्यवस्थापनको लागि विशेष परियोजना सञ्चालन गरिने छ ।

नगरको सम्पूण कृषि क्षेत्रमा सिंचाईको पूर्ण व्यवस्था गर्ने नीति अवलम्वन गरिने छ ।

पक्की कुलो निर्माण गरि खेतियोग्य सम्पुर्ण जमिनमा सिंचाइको प्रबन्ध मिलाईने छ ।

डिप बोरिंग तथा इनारको निर्माण गरि कृषि योग्य भूमिमा पर्याप्त सिचाइको व्यवस्था गरिने छ ।

युवा, खेलकुद तथा रोजगार व्यबस्थापन

युवाहरुमा सिर्जनात्मक क्षमताको विकास गरि सीपमुलक र व्यवसायीक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने नीति लिइने छ ।

युवाहरुलाई क्षमता अनुसारको कामको व्यवस्था मिलाउन पहल गरिनेछ ।

प्रत्येक वर्ष कम्तिमा पाँच सय जना युवालाई रोजगारी र स्वरोजगारीको व्यवस्था मिलाईने छ ।

कुलतमा फसेका युवाहरुको लागि पुनस्र्थापना तथा सुधार गृह स्थापना गरी विशेष कक्षाहरु मार्फत व्यवसायिक बनाउनमा जोड दिइने छ ।

बर्दिवास नपा–२ मा रहेको खेलमैदानलाई राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रंगशालामा स्तरोन्नती गरिने छ ।

नगरकै पहलमा ‘एक वडा एक खेल मैदान र खेलकुद टिम’ निर्माण गरि टिम विकास र खेलकुद क्षमता वृद्धि गराउन विशेष तालिमको व्यवस्था मिलाइने छ ।

नगरपालिकाकै पहलमा प्रत्येक वर्ष प्रादेशिक स्तरको र प्रत्येक दुई वर्षमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गराइने छ ।

औधोगीक, कृषि उत्पादन र व्यवसाय संचालनमा यूवाहरुलाई आकर्षित गर्न कृषि, व्यवसाय र स्वरोजगारका लागि सुलभ ऋण उपलब्ध गराउने कामको सहजीकरण गर्दै यूवा स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।

नगर क्षेत्रभित्र पर्यटन, उधोग, व्यापार, कृषि व्यवसाय, पशुपालनलाई प्रबद्र्धन गरी रोजगारी सिर्जना गरिनेछ ।

युवा उद्यमीहरुलाई पर्यटन व्यवसाय, आधुनिक कृषि व्यवसाय, पशुपालन, घरेलु उद्योगलगायतका व्यबसायीक कार्यमा संलग्न हुन प्रोत्साहन गरिनेछ ।

नगर भित्रको रोजगारमा स्थानीयलाई पहिलो प्राथमिकता दिइनेछ ।

व्यापार तथा बजार व्यबस्थापन
सुलभ तथा सुपथ बजार व्यवस्थापनको नीति लिइने छ ।

सटर भाडाको लागि एरिया छुट्याई भाडा दरमा एकरुपता कायम गरिने छ ।

बजार क्षेत्रमा व्यापारीक कम्पलेक्सहरु निर्माण गरी सुबिधासम्पन्न अत्याधुनिक बजार व्यवस्थापन गरिने छ ।

हरेक वर्ष उधोग व्यापार महोसत्व आयोजना गरी व्यापार व्यवसायको प्रबद्र्धनमा ध्यान दिइनेछ ।

सुरक्षित रात्रि बजारको पनि व्यवस्था मिलाइने छ ।

नगरपालिका कार्यालयमा व्यवसायीक प्रशासनिक कामको लागि छुट्टै डेक्स स्थापना गरिनेछ ।

प्रशासनिक व्यवस्थापन

चुस्तदुरुस्त र स्वच्छ जनउत्तरदायी प्राशासनिक व्यवस्थापनको नीति लिइने छ ।

सेवाग्राहीको काम छिटोछरितो, सुलभ र झनझटमुक्त गराइने छ ।

नगर सरकार मातहत रहने सम्पूर्ण कार्यालयहरुलाई व्यवस्थित गर्न जग्गा व्यवस्थापन गरि एयटा छुट्टै प्रशासनिक कोरिडोरको स्थापना गरिनेछ ।

१४ वटै वडाहरुमा नयाँ वडा कार्यालय स्थापना गर्दै सबै कार्यालयलाई अपांग मैत्री बनाइने छ

पारदर्शी प्रशासनिक सेवा प्रदान गरिने छ ।

खानेपानी र बिजुलीको विल तिर्न घन्टौ लाइन बस्नु नपर्ने गरी घरवाटै बिल तिर्ने इबिलिङ्गको व्यवस्था मिलाइने छ ।

नगर कार्यपालिका मातहतका सम्पुर्ण कार्यालयहरुमा “सेवा भावनाले युक्त, भष्टचार र कमिसन मुक्त” प्रशासन सञ्चालन गरिनेछ ।

राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र गैरकानुनी काम गर्नेलाई कानुनअनुसार कारवाहीको व्यवस्था गरिने छ ।

अनलाइन सूचना व्यवस्था मिलाइने ।

नगरपालिकाको सम्पूर्ण कामलाई महिला, बाल र युवामैत्री बनाउन प्रयत्न गरिनेछ र सबै नगरवासी जनतालाई सूचनाको हक अधिकारको रुपमा प्रदान गरिनेछ ।

वातावरण संरक्षण तथा पर्यावरण

बर्दिबास नगरलाई सफा, स्वच्छ र हराभरा बनाउदै स्वस्थ्य र समृद्ध नगरको रुपमा विकास गरिने छ ।

नगरभित्रको फोहरलाई पुनःप्रयोग गर्ने गरी वैज्ञानिक ढंगले व्यवस्थान गरिने छ ।

नगरलाई हराभरा तथा हरियालीयुक्त बनाउन ‘एक वर्ष, एक घर, एक विरुवाको’ नीति लागु गरिने छ ।

नगरभित्रको मुख्य तथा सहायक सडकहरुका दाँयाबायाँ अनिवार्य रुपमा हरिया बोटविरुवा लगाइने छ ।

कम्तिमा ‘एक वडा एक सुन्दर पोखरी र एक पार्क’ निर्माण गरिनेछ । हरेक वडामा अनिवार्य रुपमा बाल उद्यान बनाइने छ ।

गौरीवास, माइस्थान र खयरमाराको वन क्षेत्रलाई संरक्षित वन क्षेत्रका रुपमा विकास गरी पर्यावरणीय संरक्षणलाई विशेष ध्यान दिइने छ ।

नगर क्षेत्रभित्रका चुरेको दोहन रोक्न तथा नदीजन्य सामाग्रीको गैरकानुनी उत्खननलाई पूर्ण निषेध गर्न कानुन निर्माण गरि लागु गरिनेछ ।

शान्ति सु–व्यवस्था

जनसभागितामुलक सुरक्षा नीति लागु गरिने छ । सबै नगरवासीलाई पुर्ण सुरक्षाको प्रत्याभुत गराईने छ ।

“एक वडा एक सुरक्षा कार्यालय”को व्यवस्था मिलाइने छ ।

‘नगर प्रहरी’ गठन गरि नगरको आन्तरीक सुरक्षा व्यवस्थालाई मजबुत बनाइने छ ।
– सूचना तथा सञ्चार

सूचना तथा सञ्चारको विकासको लागी नगरका सबै वडाहरुमा दु्रतगतिको इन्टरनेट सुविधा उपलब्ध गराइने छ ।

प्रारम्भिक चरणमा शहरी क्षेत्रमा र क्रमशः नगरभित्रका ग्रामिण क्षेत्रभित्रसमेत ‘फ्रि वाईफाई जोन’ बनाइने छ ।

आधारभूत आवश्यकताको उपलब्धता र ती अधारभूत कुरालाई सूचना र प्रविधीसंग जोडिने छ ।

क्रमस हरेक क्षेत्रमा सूचना प्रविधीको प्रयोगलाई अत्याधुनिक र पूर्ण व्यवस्थित गराइदै लगिने छ ।

महिला तथा बालबालिका

महिलाहरुमा रहेको बहुक्षमता र प्रतिभाको प्रबद्र्धन गरि आत्मनिर्भर बनाउने नीति लिइने छ ।

बर्दिवास नगरभित्रका महिलाहरुलाई व्यवसायिक र सीपमुलक बनाउन एक महिला एक सीपको नीति लागु गरिनेछ ।

महिलाहरुद्वारा संचालित घरेलु उद्योग, कृषि फार्म, पशु फार्म, व्यापार र व्यासायहरुलाई करमा बिशेष छुट तथा अनुदानको व्यवस्था मिलाइने छ ।

एकल महिला, बृद्धबृद्धा र अपांगता भएकाहरुलाई राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा र प्रोत्साहन भत्तालाई नगरको तर्फवाट निश्चित प्रतिशत थप गरि सहजरुपमा वडाबाटै उपलब्ध गराइने छ ।

बालअधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलाई पूर्ण पालना गराइने छ ।

विपन्न समुदायका बच्चाहरुको लागि पूर्ण पौष्टिक आहारको व्यवस्था मिलाइने छ ।

नगरपालिकाभित्रका सबै प्राथमिक विद्यालयहरुमा बालमैत्री वातावरण सहितको कक्षा निर्माण र सञ्चालन परियोजना संचालन गरिनेछ ।

खोपलाई बालबालिकाको अधिकारको रुपमा परिभाषित गरी समयमै सहज रुपमा उपलब्ध गराइने छ ।

नगरभित्रका सबै वडाहरुमा बालउद्यान (चिल्ड्रेन पार्क) निर्माण गरिने छ ।

भुमिहिन तथा सुकुम्बासी

सुकुम्बासीहरुको पहिचान गरि सुकुमबासी परिचय पत्र दिइनेछ ।

भुमिहिन तथा सुकुमबासीहरुको लागि जग्गाको व्यवस्थापन गरी लालपूर्जा वितरण गर्न पहल गरिने छ ।


उज्यालो बर्दिबास अभियान

बर्दिबास नगरलाई सधैं उज्यालो बनाउने नीति लिइने छ । पहिलो चरणमा बर्दिबास बजार र आवास क्षेत्रलाई लोडसेडिङ मुक्त (उज्यालो) बनाइने छ र त्यसलाई क्रमशः विस्तार गरिने छ । बर्दिवास नगरका सबै ग्रामिण क्षेत्रमा विद्युतिकरण गरिने छ ।

पुर्व–पश्चिम राजमार्गको उत्तर भएरजाने हाइटेन्सन लाईन र दक्षिण भएर जाने मलंगवा–ढल्केवर प्रशारण लाईनलाई मानव बस्तिवाट टाडा लगि व्यवस्थापन गर्ने ।

सौर्य उर्जालगायतका वैकल्पिक उर्जाको प्रयोगमा विशेष जोड दिइनेछ ।

दलित तथा पिछडिएका समुदाय

दलित समुदायहरुको सामाजिक तथा आर्थिक उत्थानका लागि बिशेष परियोजना निर्माण गरि लागु गरिने छ ।

पिछडिएका तथा अति विपन्न दलित समुदायहरुको लागि ‘एकिकृत दलित बस्ती’ निर्माण गरिने छ ।

राज्यद्वारा सञ्चालित जनता आबास कार्यक्रमलाई ‘एकिकृत नमुना बस्ती’को रुपमा व्यवस्थित गरिनेछ

दलित समुदायबाट संचालित व्यवसायहरुमा बिशेष अनुदानको व्यवस्था गरिने छ ।

‘एक दलित बस्ती एक उत्पादन केन्द्र’ स्थापना गरि दलित समुदायलाई आर्थिक रुपले समेत सवल बनाइनेछ ।

विपन्न तथा दलित समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा समेत निःशुल्क उपलब्ध गराइने छ ।

नगर क्षेत्रभित्र छुवाछुत तथा समाजिक विभेदलाइ पूर्णरुपमा अन्त्य गरिने छ ।

पर्यटन सम्बन्धी योजना

धार्मिक पर्यटनलाई विकास गर्न पञ्चधुरा माइस्थान, टुटेश्वरनाथ महादेव मन्दिर तथा नगरभित्र रहेका गुम्बाहरुमा आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न भौतिक भूर्वाधार निर्माण गरिने छ ।

बर्दिबास न.पा. वडा नम्बर–१ को उत्तर, हात्तिमारा खोल्सी पूर्व, पाटुडाँडा दक्षिण र विपी राजमार्ग पश्चिमको चिहान डाँडालगायतको वन क्षेत्रलाई राष्टिूय स्तरको पर्यटकीय स्थलको रुपमा विकास गर्न पहिचानसहितको “चइनडाँडा हरियाली पार्क” निर्माण गरिने छ ।

बर्दिवास नगरकै सबैभन्दा अग्लो रायमण्डल डाँडामा ‘बर्दिवास भ्यू टावर’ बनाइने छ ।

कामीडाँडा नेवारडाँडा सामुदायिक वन क्षेत्रलाई रिसोर्ट र भ्यु टावरसहित पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।

वन व्यवस्थित र बिस्तार गर्ने नीति अनुरुप वन क्षेत्रहरुमा वृक्षारोपण गरिने छ ।


आदरणीय जनसमुदाय, माथि उल्लेखित योजनाहरु कार्यान्वयनको निम्ति तपाई हामी सबैको हातेमालो र सहकार्य जरुरी छ । बर्दिवास नगर तपाई हाम्रो हो, यसलाई तपाई हामीले नै बनाउनुपर्छ । आउनुस्, यस स्थानिय तह निर्वाचनमा जसको नीति उसैको नेतृत्व लागु गर्न हातेमालो गरौं । तपाई हामीलाई आफ्नो अमुल्य मत दिनुस हामी तपाईलाई सुविधासम्पन्न, शान्त र समृद्ध बर्दिवास नगर दिनेछौं । सम्झौं, गोलाकारभित्रको हसिँया हथौडामा सातै छाप लगाई नेकपा माओवादी केन्द्रका सम्पूर्ण उमेदवारहरुलाई विजय गराऔं ।
नेकपा माओवादी केन्द्र
बर्दिवास न.पा. निर्वाचन परिचालन समिति