लोकसेवा बिज्ञापन विरूद्ध जनकपुरमा प्रदर्शन, मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाइयो

जनकपुरधाम, जेष्ठ २१ गते । लोकसेवाको बिज्ञापन विरूद्ध विद्यार्थीहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । लोक सेवा आयोगले आरक्षण कोटा हटाएको विरोधमा आज मधेसी विद्यार्थीहरूले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र आयोग अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाएका छन् । लोकसेवा आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरीत र त्रुटिपूर्ण निकालेको भन्दै जनकपुर एक्सन फोर्स र लाईन्स युथ क्लबका युवाहरुले संयुक्त रुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका हुन् ।

पुत्ला जलाउने क्रममा प्रहरी र विद्यार्थीबीच सामान्य झडप समेत भएको छ। प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए । उनीहरूले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका छन् ।

आयोगले मधेसी कोटा कटौती गरेर विज्ञापन निकालेको विरोधमा प्रदर्शन तथा पुत्ला दहन गरेको अगुवा विद्यार्थी प्रशान्त झाले बताए । उनले आयोगले विज्ञापन नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।

Scroll to Top