यो पनि मधेशको सरकारी विद्यालय !

सरकारी विद्यालय परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण हो, जनता मा.वि. गौरीडाँडा

राजकरण महतो
बर्दिवास, जेष्ठ २२ गते ।
समुदायिक स्कूलले विद्यार्थी नपाएर सुनसान छ । बोडिङ्ग स्कूल विद्यार्थी भरिभराउछ । सरकारी विद्यालयले शैक्षिक गुणस्तर दिन नसकेको आलोचना खेपिरहेको छ । समुदायिक विद्यालय समस्याहरुको जालले घेरिरहेको समयमा महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडामा गुलजार छ । धेरै विद्यार्थीको रोजाइमा छ । कोटा अनुसार विद्यार्थी भर्ना हुन्छ । विद्यालयमा पढाउन अभिभावकले सबै खाले सकारात्मक प्रयासहरु गर्छन् ।

-राजकरण महतो
पत्रकार तथा समाजिक अभियन्ता

महोत्तरीको बर्दिवास न.पा.–३, गौरीडांडाका बाबुराम श्रेष्ठले छोरा बिक्रम र विवेकलाई नीजी बिद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा नाम लेखाए । विक्रमलाई एलकेजीमा भर्ना गरे भने उनका दाई विवेकलाई कक्षा ७ मा । ‘सरकारी स्कूलमा बोडिङ्ग जस्तै अंग्रेजीमा पढाइ हुन्छ,’ बाबुराम श्रेष्ठले भने, ‘त्यही भएर छोराहरुलाई भर्ना गरायौ ।’ अहिले सामुदायिक विद्यालय पढाईमा अब्बल बन्दै गएको उनको भनाई छ ।

बाबुराम जस्ता अधिकांश अभिभावकहरुको रोजाईमा परेको सामुदायिक विद्यालय हो, श्री जनता माध्यमिक विद्यालय गौरीबास । जहाँ निजी बिद्यालयको जस्तै अंग्रेजी माध्यममा पढाई हुन्छ ।सामुदायिक विद्यालयहरुको अवस्था मधेशमा दैनिय छ । त्यस बीचमा फस्टाएको छ, जनता मा.वि.। शैक्षिक सत्र २०७६ मा एक सय ५० जना भन्दा बढी विद्यार्थीहरु बोडिङ्ग छोडेर भर्ना भए । ‘पाँच सय बढी विद्यार्थी भर्ना हुन आए,’विद्यालयका शिक्षक नेत्रबहादुर रम्तेलले भने, ‘तर, धेरै कमले प्रवेश पाए । भर्ना गर्न प्रवेश परिक्षा लिनु प¥यो ।’ बिद्यालयमा भौतिक संरचना र जनशक्ति अभावका कारण अन्यत्रबाट अध्ययन गर्ने आकांक्षा बोकेर आएका सबै विद्यार्थीहरुलाई भर्ना गर्न नसकिएको विद्यालय स्रोतले जनाएको छ ।

‘नीजि विद्यालयको महँगो शुल्क र घोकन्ते शिक्षाले हाम्रो चित्त बुझेनन्,’ रामगोपालपुरका अभिभावक रामबाबु यादवले भने,‘बिद्यार्थीको शैक्षिक प्रमाणपत्र त आकर्षक बनाउला तर दक्ष जनशक्ति बन्ने उत्प्रेरणा पक्कै दिन सक्दैन ।’ जनकपुरको निजि विद्यालयमा पढ्दै गरेकी छोरी स्मृति यादवलाई उनले त्यहाँबाट निकालले जनता मा. वि. मा भर्ना गराएका थिए ।

जनता माध्यमिक विद्यालय गौरीबास प्रदेश २ को नमुना सामुदायिक विद्यालयको सूचीमा गनिन्छ । विद्यालयको बालकक्षा मनमोहक छ । बच्चाहरु रमाउँछन् । देशभरिका २९ जिल्लाका अभिभावकहरुले आफ्ना बालबालिका गौरीडाँडामा राखेर पढाइ रहेका छन् । तोकिएको समय भन्दा ढिला आएका शिक्षक र विद्यार्थीहरुलाई बिद्यालय हाताभित्र प्रबेशमा रोक लगाईन्छ । सुरक्षागार्ड रामबहादुर बुढाथोकी भन्छन्,‘ कसैलाई काँखा र पाखा गर्न मिल्दैन ।’ गेटबाहिर निस्किनु परे विद्यालय प्रशासनबाट गेटपास लिएर आउनुपर्ने नियम बनाइएको छ ।

राजनितिकर्मी, कर्मचारी, विद्यालय व्यवस्थान समिति, शिक्षक लगायतले आफ्ना छोराछारी जनता माध्यमिक विद्यालयमा पढाई राखेका छन् । त्यसैले सर्वसधारणहरुको जनता मा.वि.प्रति विश्वास बढेको अभिभावक बासुदेव महतो बताउँछन् । ‘जनता माध्यमिक विद्यालय अब चमकियो’ सरकार १० बर्षमा सुध्रियो भने नेपालबाट सुर्ती खेती हराएरजस्तै बोडिङ्ग स्कूल हराएर जान्छ । विद्यालयको शैक्षिक क्रियाकलापको अभिभावकहरुले आफै अनुगमन निगरानी गर्छन् ।

आठ बर्ष अघि दुई सय ३६ विद्यार्थी, १२ जना शिक्षक, जस्ताले छाएको चार कोठे जीर्ण भवनमा पढाई हुन्थ्यो । सामुदायिक विद्यालय एक तरहले गएगुज्रेको अवस्थामा थियो । सबैको आकर्षण बोडिङ्ग स्कूल नै थियो ।

यसरी चम्कियो गौरीडाँडाको जनता स्कूल

२०३१ सालमा विद्यालय स्थापना भएको हो । तर, खास्सै फड्को मार्न सकेको थिएन््न । २०६८ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजन ढुङ्गाना आएपछी शैक्षिक सुधारको अभियान सुरु गराएका थिए ।
हाल प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त प्रमाणपत्र तहको बाली विज्ञान र पशु विज्ञानको पढाई हुन्छ । तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । हाल विद्यालयमा एक हजार २ सय विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा ५३ जना शिक्षक, चार वटा ब्लक पक्की भवन छन् ।

विद्यालयमा आफ्ना बच्चा भर्ना गराउन अभिभावकहरु हर सम्भव प्रयास गर्छन् । योजना सहित लगनशिल भएर नेतृत्व पंक्तिले इमान्दारिता देखाउँदा जनता माध्यमिक विद्यालय नमुना बनेको हो । सरकारले बिनियोजन गरेको बजेटका अलावा अभिभावले दिने दान दातव्यबाट विद्यालय चलेका छन् ।

बर्दिबास स्थित गौरीडाँडामा नेपाल सरकारका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा आधारशिलाको स्थापना भयो । राजनितिमा पुर्णकालीन रहेका नेताहरुले आफ्ना बच्चा कहाँ पढाउने भनेर बहस चल्यो । सरकारी स्कूल जनता माध्यमिक विद्यालयमा पढाउने निधो गरे । त्यसपछी विद्यालय रुपान्तरणको लागि अभियान थालियो ।

समुदायको सक्रियतामा विद्यालयले आठ बर्षको अन्तरालमा फड्को मारेको व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गाना बताउँछन् । पछिल्लो समय देशमै जनता माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा नाम कमाएको छ । राम्रो नतिजा ल्याउन सफल छ । शैक्षिक क्रियाकलापदेखि साक्षरता जस्ता जनजागरणमा यहाँ अध्ययनरत विद्यार्थीहरुले काम गरिरहेका छन् ।

आमा समुहको सफल प्रयोग

विद्यार्थीहरुको उपस्थितिलाई नियमित बनाउन आमा समुहहरु सक्रिय छन् । विद्यालयको क्याचमेन्ट ऐरियामा ८ वटा आमा समुह गठन गरिएको छ । आमा समुहको सदस्य सचिवको रुपमा त्यसक्षेत्रमा घर पर्ने शिक्षक रहन्छ । मासिक बैठक बसेर विद्यालयको गतिविधि र बच्चाहरुको गुनासाहरुको बारेमा छलफल गरिन्छ । ‘आमा समुहको विद्यालय परिवर्तनमा मुख्य भूमिका छ । राम्रा गुणहरुलाई प्रचार गरिन्छ, ’विद्यालय व्यवस्थान समितिका सदस्य कृष्णप्रसाद चौलागाईले भने, ‘नराम्रा गुणहरुलाई सुधार्न खबरदारी गरिन्छ ।’

शिक्षकको छोराछोरी विद्यालयमा अनिवार्य पढाउनु पर्ने

शिक्षक र कर्मचारीले आफ्ना बच्चा अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निति लिइएको छ । हाल विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका ४८ जना बच्चाहरु अध्ययनरत छ । ‘नेतृत्वपंक्तिले आफु पढाएको स्कूलमा आफ्नो बच्चा पढाउँदा जनसमुदायमा विश्वास बढेको छ,’ अभिभाव अमृता सिंहले भनिन्, ‘यहाँ त शिक्षक, नेता, कर्मचारीहरु आफ्ना बच्चा बोडिङ्गमा पढाउँछन् । अनि जागिर खाने मनसायले स्कूलमा टायमपास गर्न जाने परिपाटी छ ।’ शिक्षकलाई स्वंय आफु पढाएको विद्यालयप्रति विश्वास छैन । जबसम्म समुदायको विश्वास शिक्षकले जित्दैनन्, तबसम्म सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि हुदैंन ।

तहगत इन्चार्ज

ठूला जिम्मेवारीलाई विद्यालयले साना–साना टिममा विभाजित गरेर काम गरिन्छ । विद्यालयको शैक्षिक व्यवस्थान चुस्त राख्न तह अनुसार इन्चार्ज तोकिएको छ । ०–५ सम्मको इन्चार्ज सरीता कार्की, एकेडेमी इन्चार्ज लिलानाथ गौतम, प्राविधक तर्फको इन्चार्ज अजय साह, प्रधानाध्यापक दिपकराज बराल छन् ।
तहगत इन्चार्ज छुट्याएकोले शैक्षिक क्रियाकलापको व्यवस्थापनमा विद्यालयका सबै शिक्षकहरुको प्रत्यक्ष सहभागिता रहन्छ । यसले शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

प्रविधिको प्रयोग

प्रविधीको प्रयोग गरेर इमिडासको कक्षा संचालन छ । मन्टेश्वरी विधीबाट बालबालिकाहरुलाई पढाइन्छ । बालकक्षामा तीन बर्ष अघिदेखि बालकक्षामा कम्प्युटरबाट पढाइन्छ । कक्षा ४ देखी १० सम्म कम्प्युटरको सैद्धान्तिक र प्रयोगात्मक कक्षाको व्यवस्था छ । कक्षा ८, ९ र १० मा स्मार्ट बोर्डको प्रयोग गरिएको छ ।

क्लव मार्फत प्रतिभा उजागर

विभिन्न क्लवको गठन गरि बालबालिकामा रहेको प्रतिभाको उजागर गर्ने व्यवस्था गरिएको छ । विद्यलायका शिक्षक लिलानाथ गौतमका अनुसार, बच्चाहरुलाई मन पर्ने क्लव उनीहरु आफै रोज्छन् । हरेक शुक्रबार आफ्ना क्वलमा उनीहरुले प्रतिभा प्रदर्शन गर्छन् । खेलकुद, सांस्कृतिक, विज्ञान, ग्रिन, भेट जस्ता क्लवहरु गठन गरिएको छ । विद्यालयमा खेलकुद शिक्षाक राखिएको छ ।

तेक्वान्दो, टिटी, भलिवल, तेक्वान्दो, हाइजम्फ, लंजम्फ, सटफुट हान्ने, ज्यावलिङ्ग थु्र, रिले दौड जस्ता खेलमा विद्यार्थीहरु अभ्यस्त छन् । प्रदेश स्तरीय खेलहरुमा जनता माध्यमिक विद्यालय गौरीडाँडाका बच्चाहरु राम्रो प्रदर्शन गरिरहेका छन् ।

लिजर घण्टी पढाउनेलाई पुरस्कार

सिसि क्यामराबाट विद्यार्थीहरुको अनुशासनको निगरानीको गरिन्छ । विद्यार्थीले बदमासी गरेर सिसि क्यामरामा कैद भएको फोटेज देखाएर सुधारको लागि पृष्टपोषण दिइन्छ । पढाई सकिएपछी युनिट टेस्ट लिइन्छ । कमजोर बच्चाहरुलाई प्राथमिकतामा राखेर पढाइन्छ । कमजोर बच्चाहरुलाई अतिरिक्त कक्षाको व्यवस्थान गरिएको शिक्षक रामसकल महतोले बताए ।

लिजर घण्टीको व्यवस्थान मिलाइएको छ । लिजर घण्टी पढाउने शिक्षकलाई प्रत्येक घण्टी बाप्त ५०–५० रुपैंया पुरस्कार स्वरुप दिइन्छ । यसले कक्षा कोठा खाली रहँदैन । विद्यार्थीहरुलाई पढ्न र समयमा कोर्स सिद्धियाउन सजिलो हुन्छ ।

गर, अनि सिक

प्राविधिक कक्षामा अधिक प्रयोगात्मक कक्षा संचालन गरिएको छ । विद्यालयमा बाली र पशु विज्ञानको डिप्लोमा तहको कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई तरकारी बाली उत्पदान, भ्यासिन सिविर, माटो परिक्षण जस्ता कार्यक्रम गरिएको बाली विज्ञानको कोडिनेटर बह्रमबाबु शाहीले जनाए । स्थानीय किसानहरु बालीमा रोग लागे या पशु विरामी भए स्कूलमा लिएर आइपुग्छन् । किसानले ल्याएका समस्यामा शिक्षकले विद्यार्थीहरुलाई सिकाउँदै उपचार गर्ने गरेको पशु विज्ञानका कोडिनेटर रितिकेश झा बताउँछन् । विज्ञान र प्रविधिमा स्थानीय स्तरमा गरिएका सफल अनुसन्धानहरु प्रकाशन विद्यालयकाले बार्षिक रुपमा म्याजिन प्रकाशन गर्दै आएको छ ।‘इनोभेटिभ साइन्स’ नाम म्याजिनको भरखरै पहिलो प्रकाशन उनले बजारमा ल्याएको छ ।

विद्यालमै दिवा खाजा

आधारभुत तहका बालबालिकाहरुका लागि विद्यालयले दिवा खाजाको प्रबन्ध मिलाएको छ । बच्चाका आमाहरुले पालो लगाएर विद्यालयकै भान्छामा खाजा पकाउँछन् । कक्षा ५ मा पढ्ने विद्यार्थी दिपककुमार महतोका अनुसार, खिर, जाउलो, घियु, खिचडी, च्युरा तरकारी, फलफूल, दुध च्यु खाजाको रुपमा खुवाइन्छ । साना बच्चाहरुलाई शिक्षकहरुले खाजा खुवाइदिने गर्छन् । दिवा खाजाले पढाइमा आकर्षण थपिएको छ । तल्लो कक्षामा टिफिनपछी बच्चाहरुमा पढने रुची बढेको छ ।

आपाङ्गतालाई बास

विद्यालयलले आपाङ्गता भएका विद्यार्थीलाईहरु बास सहितको व्यवस्था गरिएको छ । उनीहरुका लागि छुट्टकै बास र भान्छाको व्यवस्था मिलाइएको छ । आँखा नदेख्ने १३ जना बच्चाहरुलाई पढिरहेका छन् । उनीहरुलाई सार्थीहरुले टिफिनमा खाजा खुवाउन सहयोग गर्ने, खाको बटका धुइदिने, शिक्षकले दिएको होमक सिकाई दिने जस्तामा सहयोग गर्छन् ।
अनि उत्कृष्ट नतिजा

२०७५ सालमा एसइई परिक्षामा ७ जनाले ‘ए प्लस’, १६ जना ‘ए ’ र बाँकीले ‘बी’ ल्याए ।सभ्यता भट्टराई प्रदेश २ मै सामुदायिक विद्यालयको तर्फबाट २०७५ को एसइईमा उत्कृष्ट नतिजा ल्याएकी छिन् ।२०७६ सालको एसइई परिक्षामा ७९जना सहभागि छन् । त्यसको रिजल्ट आएको छैन । पशु विज्ञानको डिप्लोमा तहको पढाई २०७० देखि सुरु गरिएको थियो ।

२०७१ मा फस्टइयरको रिजल्ट शतप्रतिशत आयो । २०७१ मा मा सेकेन्डइयरको रिजल्ट ९६ प्रतिशत आयो । हाल ठडइयरको पढाई जारी छ ।त्यसैगरि २०७२ सालदेखि जनता माध्यमिक विद्यालयलले बाली विज्ञानको पढाई गराउन थाल्यो । फस्टइयरमा ९६ प्रतिशत रिजल्ट ल्याउन सफल भयो । सेकेन्डइयरको परिक्षा भयो रिजल्ट आएको छैन । ठडइयरको पढाई भइरहेको छ । विद्यालय परिवर्तनको लागि थालिएको अभियानको समग्र उपलब्धी आउन चार बर्ष अझै लाग्ने छ ।

अभिभावक दंग

‘पन्ध्रबर्ष अघि स्थानीयलाई गौरीडाँडामा बसेको अभिशाप जस्तै लाग्थियो,’ अभिभावक संघका अध्यक्ष अर्जुन गौतम भन्छन्,‘अहिले गौरीडाँडामा आउनेहरुको लर्को छ ।’ बाहिरबाट स्कूल पढ्न आउने विद्यार्थीहरुले गौरीडाँडाका घरहरु भरिभराउँछन् ।

विद्यालय नमुना बन्दा सबैको आकर्षण बढ्यो । अब बोडिङ्ग पढाएर हुने खर्चको बचत भयो । कोठाबाट आउने भाडाले खान पुग्यो । कम्तिमा ६० वटा पसल खुलेका छन् । रोजगारी वृद्धि भएको स्कूल गेटमा होटल संचालन गर्दै आएकी विनिता श्रेष्ठ बताउँछिन् ।

समाजिक सद्भावको केन्द्र

चुरेको काँखमा जनता माध्यमिक अवस्थित छ । पहाड र मधेशको संगम स्थल महोत्तरीको बर्दिबास पर्छ । मधेश आन्दोलनमा पनि यहाँ मधेश र पहाडी समुदाय मिलेर बसेका थिए । हाल विद्यालयमा थपिएको शैक्षिक गुणस्तरको कारणले मधेशबाट अभिभावकहरु बच्चा लिएर पढाउन गौरीडाँडा आएका छन् । प्रत्येक पहाडी समुदायको घरमा मधेशी समुदायले बास पाएका छन् । यो मधेश पहाडी बीचको समाजिक सद्भावको नमुना रहेको पूर्व शिक्षक भोला खड्का बताउँछन् ।‘स्कूलको माध्यमले पहाडी र मधेशी समुदायबीच भवानात्मक एकताको बोध गराएको छ । यसलाई कुनै पनि हालतमा गुम्न दिनु हुदैंन ।’

श्रोत साधनको विकास

रातु नदीको नदी उकास १० विद्या जग्गा संरक्षण गरेर पोखरी बनाइएको छ । त्यसमा माछा पालिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास नजिकै रहेको १७ कठ्ठा जग्गामा कृषीको रिसर्च सेन्टर निर्माण गर्ने योजना छ । विद्यालय नजिकैको २२ कठ्ठा जग्गामा घेराबेरा गरेर पशु विज्ञानको प्रयोगात्मक कक्षा संचालन गरिएको छ । ढेड विघा जग्गामा विद्यालय संचालनमा छ ।

सबै संकाय पढाउने योजना

शैक्षिक अकर्षणलाई टिकाइ राख्न विद्यालयलाई चुनौति छ । बर्दिबास लागुऔषधको ट्रान्जिट प्वाइन्ट रहेकोले त्यसबाट बालबालिकाहरुलाई टाढा राखोर दक्ष जनशक्ति उत्पादन गर्न अर्को चुनौती छ । श्रोत साधनको अभावले शिक्षण क्रियाकलापमा समस्या छ ।विद्यलाय व्यवस्थाप समितिका अध्यक्ष राजन ढुङ्गाना भन्छन्,‘विद्यालय शिक्षालाई कृषी उत्पादन मुखी बनाउँछौं ।’कृषी सहकारी मार्फत काम गर्ने योजना बारे सुनाउँदै उनले थपें,‘सबै संकायको पढाई जनता मा.वि.ले संचालन गर्छौं ।’

Scroll to Top