भक्तपुर, जेष्ठ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नपाएर अब कोही विदेशिनु नपर्ने बताएका छन् । शुक्रबार भक्तपुरको कटुन्जेमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले सबैलाई नेपालमा रोजगारी दिने दावी गरे ।
‘रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो’ उनले भने ।
राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गरे ।
सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले शुरु गरेको अभियानदेखि कतिपय आत्तिएको टिप्पणी गरे । मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उनले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए ।