काठमाडौं, जेष्ठ ३० गते – आइसिसी क्रिकेट विश्वकप २०१९ मा भारत र न्युजिल्यान्ड अपराजित टिम हुन्। न्युजिल्यान्डले सुरुवाती ३ खेलमा जित हात पारेको छ। भारतले पनि लगातार २ खेलमा जित हात पारेर उपाधि जित्ने अभियानमा अघि बढिरहेको छ। बिहीबार ट्रेन्ट ब्रिजमा यी दुई टिम भिड्दैछन्। दिउँसो सवा तीन बजे हुने खेलमा दुवै टिम आफ्नो अपराजित यात्रालाई कायम राख्न केन्द्रीत हुनेछन्।
भारतले साविक विजेता अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेर आत्मविश्वास बटुलेको छ। यद्यपी सो खेलमा शतक प्रहार गरेका शिखर धवन भारतीय टिममा हुनेछैनन्। उनीले विश्वकपमा केहि खेल गुमाउँदैछन्। लोकेश राहुलले रोहित शर्मासँग मिलेर भारतको ओपनिङ गर्ने अनुमान छ। राहुलले यसअघि चौथो नम्बरमा ब्याटिङ गरेका छन्। भारतको टिम सेटअप बिग्रदा चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ। अर्कोतर्फ भारतको मुख्य चुनौती न्युजिल्यन्डको तीव्र गतिको बलिङ रोक्नु देखिएको छ।
न्युजिल्यान्डका लागि स्पिनरले पनि राम्रो खेलिरहेका छन्। त्यसैले विराट कोहलीका लागि स्पिन आक्रमण घातक हुन सक्छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्डका लकी फर्ग्युसन र माट हेनरीले उत्कृष्ट बलिङ गरिरहेका छन्। दुवै मिलेर अहिलेसम्म १५ विकेट लिइसकेका छन्। यस्तै जिमी निशम र कोलिन डे ग्रान्डहोमको पनि उत्कृष्ट प्रदर्शन जारी छ। भारत जस्तो बलियो ब्याटिङ भएको टिमविरुद्ध खेल्नुअघि बलर उच्च फर्ममा रहनु न्युजिल्यान्डको बलियो पक्ष हो। यस्तै न्युजिल्यान्डको सुरुवाती ब्याटसम्यान र अलराउन्डरले पनि चाहिएको बेला क्षमता देखाइसकेका छन्।