रेश्मा काण्ड : सत्यतथ्य बाहिर ल्याउन सरकार र प्रहरी प्रशासन गम्भिर नभएको आरोप

 

विजय कुमार सिंह-
ढल्केवर, फाल्गुण २१ गते ।

बलात्कार गरि हत्या पश्चात जलाएकी धनुषाकी दलित समुदायकी बालिका रेश्मा रसाइलीको घटनाको गम्भिर छानविन गर्न सरकारले उच्च स्तरिय न्यायिक समिति गठन नगरको भन्दै अधिकारकर्मी तथा पीडित परिवारले आपत्ती जनाएका छन् । रेश्मा हत्याको सत्यतथ्य बाहिर ल्याउन सरकार र प्रहरी प्रशासन गम्भिर नभएको समेत स्थानीयहरुले आरोप लगाएका छन् । रेश्मा हत्या सम्वेदनशिल भएको भन्दै घटनाको न्यायिक छानविन हुनु पर्ने माग गर्दै आएका छन् ।

जनप्रतिनीधी, स्थानियवासी, नागरिक समाज र स्थानीय बुद्धिजीविहरु पीडित परिवारको घरमा भेला भई रेश्माको घटनाको विषयमा गम्भिर छलफल गरेका छन् । गत फाल्गुण १ गते बुधबार विवाहमा नाच्दै गरेकी धनुषाको मिथिला नगरपालिका वडा नम्वर–३ हरिहरपुर, मगरटोलकी ९ वर्षीया रेश्माको बलात्कारपछि हत्या गरी शव उखुबारीमा जलाइएको अवस्थामा फाल्गुण २ गते फेला परेको थियो ।

रेश्माको घरमा सरोकारवालाहरु छलफल गर्दाको दृष्य । तस्विर : विजय कुमार सिंह

हत्या आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका–४, बेंगारी टोलका २२ वर्षीय निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । रेश्माको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारजनको शंका छ । एकजना दोषी पक्राउ गरेर प्रहरी निश्चिन्त भएको रेशमाको काका देवराज रसाईलीले आरोप लगाए । ‘त्यो एक्लोले गरेको घटना जस्तो हामीलाई लाग्दैन,’ उनले भने, ‘घटनाको न्यायिक छानवीन गरेर घटनामा संग्लन दोषी सबैलाई कानुनी दायरामा ल्यानुपर्छ ।’ उनले दोषीलाई आजीवन कैदको सजाय हुनुपर्ने माग समेत गरे ।

दोषी जो कोहि भएपनि कडा भन्दा कडा कारवाही हुनुपर्ने स्थानीय सुमित्रा विकले माग गरिन् । उनले दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने बताईन् । ‘सरकारले नियम कानुन परिवर्तन गरेर भएपनि फाँसीको सजाय दिनुपर्छ,’ उनले भनिन् । गणेशमान चारनाथ नगरपालिकाका सुरतलाल कालिकोटेले रेश्मामाथी ठुलो अन्याय भएको बताए । ‘यो सामान्य घटना होईन, यसमा सबैपक्ष गम्भिर हुनुपर्छ’ उनले भने, ‘घटनाको निष्पक्ष छानविन गरिनुपर्छ ।’ दोषी उम्किए पीडितले कहिल्यै पनि न्याय नपाउने बताउँदैं उनले थपे,– ‘सरकारको उदासिन्ताका कारण अपराधीहरुको मनोबल दिनानुदिन बढ्दै छ ।’

रेश्समाको हत्या पश्चात हरिहरपुरका बालवालिकाहरु विद्यालय जान समेत डराई रहेको स्थानीय माया विकले बताईन् । ‘हामीले अहिलेसम्म न्याय खोज्दै छौं । रेश्माको घटनाले गाउँका बालबालिकाहरु त्रासमा छन् । अपराधीलाई छोड्नु हुदैन, सकेसम्मको सजाय दिनुपर्छ’ उनले भनिन् । अपराधीहरुलाई छोड्दै गयो भने यस्ता धेरै घटनाहरु घट्नि सक्ने स्थानीय सिता विकले चिन्ता व्यक्त गरिन् । घटनाको प्रवृत्ती हेर्दा एकलोले त्यो घटना सम्भव नरहेको नागरिक समाजका अगुवा मिन रहपालले बताए । ‘रेश्मा जस्तो सबैको घरमा छोरी चेली छ । भोली अरुको घरमा पनि यस्तो घटना घट्न सक्छ,’ उनले भने, ‘हामी मौन भएर बस्यौ भने भोलीका दिनमा रेश्मा जस्तो अरु छोरी चेलीमाथि पनि बलात्कार र हत्याको सिकार हुनसक्छ ।’

यस्तै, मिथिला नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष रामएकवाल महतोले दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताए । ‘प्रदेश नम्बर २ मा फासीको सजाय हुनुपर्छ’ वडाध्यक्ष महतोले भने, ‘फाँसीको सजाय भए अनि मान्छे सर्तक हुन्छन् ।’ उनले यो क्षेत्रमा अपराधिक गतिबीधी बढ्दै गएको बताए । सुरक्षाको दृष्टिकोणले यस वडाको यो टोलमा अस्थाई प्रहरी चौकीको लागि आफू पहल गरिरहेको उनले सुनाए । एक मात्रै छोरीको हत्याले हहिरपुरका देवनारायण रसाइलीको परिवार शोकमा डुबेको छ । घर जलेको एक महिना नबित्दै छोरी रेश्माको निर्मम हत्याले देवनारायण रसाइलीको परिवार शोकमा डुबेको छ ।

Scroll to Top