‘प्रदेश सरकारको निर्देशन सिडिओले पालन गरे जिल्ला प्रशासन प्रमुख नियुक्ति हुँदैन’

जनकपुर, जेठ ३१ – प्रदेश २ मा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय प्रमुख राख्न गृहकार्य प्रारम्भ गरिसकेको जनाएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा स्पष्ट पारेका हुन्।

[custom-facebook-feed]

उक्त कार्यालयका लागि आगामी आर्थिक वर्षमा प्रदेशका आठै जिल्लामा बजेटको विनियोजन हुने तय भएको समेत बताए। उक्त प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला छन्।

प्रदेश सरकारद्वारा नियुक्त गरिने जिल्ला प्रशासन प्रमुखले सुरक्षा निकायसँग समन्वय गरी शान्ति सुरक्षा तथा आतङ्कवादी क्रियाकलाप, आन्दोलन नियन्त्रणमा प्रहरी परिचालन र गोली हान्नेसम्मको आदेश दिन सक्ने प्रावधान बन्ने बताइएको छ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन प्रमुखका अधिकारबीच कसरी समन्वय हुन्छ भन्ने प्रश्नको जवाफमा मन्त्री यादवले सङ्घीय सरकारका प्रमुख जिल्ला अधिकारीले नागरिकता र राहदानी वितरण तथा सीमा सुरक्षासम्बन्धी कार्यसम्पादन गर्ने बताए।

सङ्घीय सरकार मातहतका प्रमुख जिल्ला अधिकारी (सिडियो)ले प्रदेश सरकारले दिएको जिम्मेवारी बहन गरे प्रदेश सरकारले जिल्ला प्रशासन प्रमुख नियुक्त नगर्ने पनि उनले जानकारी दिए। मन्त्री यादवले भने, ‘प्रमुख जिल्ला अधिकारीले सङ्घीय सरकारको मात्र जिम्मेवारी बहन गरेमा प्रदेश सरकारले आफ्नै जिल्ला प्रशासन प्रमुख राख्नेछ।’

त्यस्तै, प्रदेश सरकारले आगामी आवमा प्रदेश प्रहरी भर्ना र आठै जिल्लामा अनुसन्धान ब्युरो स्थापना गर्ने गृहकार्यसमेत गरिरहेको बताइएको छ। रासस