जेठ ३२, वेष्ट इण्डिजलाई हराउँदै इंग्ल्याण्ड आईसीसी विश्वकप अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो ।
वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जो रुटले शतकीय योगदान दिए । आक्रामक ब्याटिङ गरेका रुटले अविजित १०० रन बनाए । उनले ९४ बलमा १०० रन बनाएका थिए । रुटको विश्वकपमा यो दोस्रो शतक हो । यसअघि पाकिस्तानविरुद्धको खेलमा उनले १०७ रनको शतकीय पारी खेलेका थिए ।
त्यसअघि ओपन जोनी बेयरस्टाले पनि ४५ रन बनाएका थिए । पहिलो विकेटका लागि रुट र बेयरस्टाेले ९५ रनको साझेदारी गरे भने रुटले क्रिस वक्ससँग मिलेर पनि १०४ रनको साझेदारी गरे । वक्सले ४० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रनकाे योगदान दिए भने सिमरन हेटमेयरले ३९ रन बनाए । क्रिस गेलले पनि ३६ रन बनाए ।
अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । वेष्ट इण्डिजका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।

वेष्ट इण्डिजलाई सस्तैमा समेट्नका लागि जोफ्रा आर्चर र मार्क उडले तीन-तीन विकेट लिए भने जो रुटले दुई विकेट हात पारे ।
इंग्ल्याण्डले चार खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म हार नव्यहोरेको न्यूजिल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेष्ट इण्डिज भने चार खेलबाट तीन अंक जाेड्दै छैटाैं स्थानमा छ ।