महोत्तरी, असार २ गते – स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि
लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध गर्दै सोमबार सप्तरीमा विद्यार्थीहरुले एक घन्टा चक्काजाम गरेका छन्। सोमबार उनीहरुले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।
रुपनी गाउँपालिकास्थित रुपनी बजारमा भेला भएका आधा दर्जन विद्यार्थी संगठनले विज्ञापनको विरोध गर्दै बिहान १० देखि ११ वजेसम्म अवरुद्द गरे।
समाजवादी विद्यार्थी फोरम, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन सडक अरुद्ध गर्न राजमार्ग पुगेका थिए।
विद्यार्थीले विज्ञापनको विरोधमा आईतबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका थिए भने शनिबार आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जनाएका थिए।
आयोगले हाल निकालेको विज्ञापन रद्द गरी समावेशी सिद्धान्तका आधारमा पुनः विज्ञापन आह्वान गर्नुपर्ने उनीहरुको माग छ।
संघीयता, समावेशी तथा समानुपातिक प्रणाली विपरीत निकालिएको विज्ञापन रद्द नगरे थप आन्दोलनका कार्यक्रम गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिए।
आयोगले जेठ १५ मा ५ सय १५ स्थानीय तहमा ९ हजार १ सय ६१ पदपूर्तिका लागि विज्ञापन गरेको थियो। संविधानअनुसार उक्त संख्याको ४५ प्रतिशत समावेशी कोटा खुलाउनुपर्ने भएपनि त्यसको आधा सिटमात्रै समावेशिताका लागि छुट्याइएको छ।
संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले पनि आयोगको विज्ञापन संविधानको मर्म विपरीत भएको भन्दै रद्द गर्न निर्देशन दिएको छ।