काठमाडौँ, असार २ — चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा राजस्वसँग सम्बन्धित झन्डै २५ अर्ब रुपैयाँ बिगो माग दाबी सहित अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागका अनुसार यो अवधिमा राजस्वसँग सम्बन्धित झन्डै डेढ सय मुद्दा दायर भएका हुन् ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले जेठ मसान्तसम्म राजस्व चुहावटका ८१ वटा मुद्दा दायर भएको बताए । उनका अनुसार, त्यसक्रममा २ सय ३८ जना व्यक्ति विरुद्ध मुद्दा दायर भएको छ । विभागले चुहावटमा संलग्नमाथि १८ अर्ब ३२ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।
विभागले रौतहटका विजय कुमार साह र अनुकेश कुमार साहलाई एक अर्ब ६६ करोड रुपैयाँ बिगो माग दाबी गरी राजस्व चुहावटको मुद्दा दायर गरेको छ । उनीहरूले १५७ किलो सुन अवैध रूपमा विक्री गरेको आरोप छ । राजस्व चुहावटमा संलग्नमाथि विभागले तीन वर्षसम्म कैद सजाय माग दाबी गरी अदालतमा मुद्दा दायर गर्छ ।
यो अवधिमा विभागले झन्डै साढे ६६ किलो सुन समेत बरामद गरेको छ । राजस्वले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा १०४ जना व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूमाथि कूल ५ अर्ब ११ करोड रुपैयाँ बिगो माग दाबी गरिएको विभागले जनाएको छ । राजस्वले गौरीशंकर गुप्ता सहित ४ जनालाई ६ लाख रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ ।
राजस्वले ७ किलो सुन तस्करी गरेको आरोपमा सरुवाको नौकुण्ड गाउँपालिकाका शेर ग्याल्बो घलेलाई पक्राउ गरी ७ करोड ११ लाख बिगो माग दाबी सहित मुद्दा दायर गरेको छ । मोटरसाइकलको पार्टपुर्जा चोरी गरेको आरोपमा राजेश प्रसाद कलवार लगायत विरुद्ध झन्डै १५ करोड रुपैयाँ बिगो माग दाबी छ । अनि त्यसमा राजस्व अनुसन्धान विभागले २९ करोड ९१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।