द पब्लिक टुडे समाचारदाता
कैलाली, फाल्गुण २२ गते ।
कैलालीको टीकपुरमा घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत कैलालीले घटनामा दोषी ठहर गर्दै सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ८ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो । यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन् । टीकापुर घटनापछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ ।
उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन् । उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन् ।
टीकापुर घटनामा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए । यो घटनामा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन् ।