कार्यकर्ता हत्याको विरोधमा विप्लवद्वारा आन्दोलन घोषणा

File Photo

काठमाडौं, असार ६ गते । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले कार्यकर्ता ‘हत्या’को विरोधमा आन्दोलन घोषणा गरेको छ ।

[custom-facebook-feed]

सरकारले लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको दाबीसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फासिवादी सरकारको बर्बरतापूर्ण हत्याविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दछौं ।’

विप्लवले असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द गर्ने बताएका छन् ।

बिहीबार सर्लाहीमा प्रहरीसँग भएको मुठभेडमा परेर जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेड भएको बताए पनि विप्लव समूहले भने बाटो ढुकेर पौडेलको हत्या भएको दाबी गरेको थियो । घटनाबारे मानव अधिकार आयोगले पनि छानविन थालेको छ ।

यो पनि पढ्नुहोस !

सर्लाहीमा विप्लव समूहसँग प्रहरीको दोहोरो भीडन्त, जिल्ला इन्चार्जको मृत्यु

Scroll to Top