धनुषामा बालकको बलि दिने धामी पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम, असार १० गते । धनुषाको मिथिला नगरपालिका-६ ढल्केबरमा ‘शक्तिशाली’ धामी हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको आरोपमा पक्राउ परेका शत्रुधन महतोलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

[custom-facebook-feed]

अबोध बालक आर्यनलाई बली दिएको आरोपमा पक्राउ परेका ५५ वर्षीय छिमेकी महतोलाई जिल्ला अदालत धनुषाले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सोमबार न्यायधीश उपेन्द्र प्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आरोपित महतोलाई जलेश्वर करागरा पठाइएको छ ।

बालकलाई बली दिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

आर्यनको शव गत वैशाख २४ गते घर नजिकैको बाँसघारीमा भेटिएको थियो। घरको ढोकामै खेलिरहेका बालकलाई महतोले अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेका थिए।

धामिझाँक्रीको कामलाई अझ शक्रिशाली बनाउन उनले आफ्नै आँगनमा धारिलो हतियारले रेटेर बालकको बली दिएका थिए।