• The Public Today
  • ‘तराईमा फेरी गोली’


    सम्पादकीय/असार १७ गते । सलार्हीमा पूर्वपश्चिम राजमार्गको एउटा खण्डमा स्थानीय जनताले आइतवार गरेको अवरोध खुलाउन प्रहरीले भिडमा चलाएको गोली लागेर उनको मृत्यु भएको हो । बाँके खोल्समा बालुवा गिटी झिक्न बनाएको गहिरो खाल्टामा डुबेर बालक मरेपछि आक्रोशित स्थानीय जनताले राजमार्ग बन्द गरेका थिए ।

    [custom-facebook-feed]

    गाउँमा विरोध गर्दा कसैले नसुन्ने भएर राजमार्गै अवरुद्ध पार्न गाउँलेहरू बालकको शव बोकेर ६ किलोमिटर टाढा पुगेका रहेछन् । त्यहीक्रममा प्रहरीले राजमार्ग खुलाउन बल प्रयोग गर्दा गरेको “हवाई फायर”को गोली लागेर ती युवकको मृत्यु भएको हो । त्यसक्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते पनि भएका छन् । घटनाको छानबिन गर्ने र क्षतिपूर्ति दिने प्रदेश सरकारको निर्णयले स्थिति साम्य पार्न सहयोग गरेको हुनुपर्छ । अहिलेसम्म यस्ता घटना क्षतिपूर्तिमा पुगेर टुंगिने गरेको देखिन्छ । छानबिन गर्नेहरूले जेजस्तो प्रतिवेदन दिए पनि सामान्यतः कार्यान्वयन हुने गर्दैन ।

    यस्तै छानबिन गर्दा घटनाको मूलमा जाने प्रयास पनि प्रायः हुँदैन । समय, साधनस्रोत, शक्ति केन्द्रमा दोषीको पहुँच आदि कारणले छानबिन प्रभावित हुन्छ । सर्लाही घटनाको छानबिन पनि त्यस्तै हुने सम्भावना नै बलियो छ र त्यसो भयो भने अर्को ठाउँमा फेरि त्यही प्रकृतिको घटना दोहोरिन सक्छ । छानबिन गर्दा यस्तो घटनाको जरैसम्म पुग्ने र दोषीलाई कानुनबमोजिम सजाय दिने हो भनेमात्र बिस्तारै नियन्त्रण हुनसक्छ । यद्यपि, परिस्थिति गम्भीर नभई गोली प्रहार गर्ने रहर सुरक्षाकर्मीले पनि पक्कै गरेनन् होला । यसैले छानबिन औपचारिकतामा सीमित भयो भने अर्को दुर्भाग्य हुनेछ । प्रदेश नम्बर २ मा भिड बढी नै अराजक हुने र प्रहरीले पनि अनावश्यक बल प्रयोग गर्ने गरेको घटना अपेक्षाकृत बढी नै भएको देखिनु छानबिनमा ध्यान दिनुपर्ने एउटा विषय हो । जनतामा राज्यप्रति किन बढी आक्रोश छ र उनीहरू प्रहरीसँग सामना गर्नुपर्दा किन बढी उग्रता देखाउँछन् ? प्रहरी पनि तराईमा विशेषगरी २ नम्बर प्रदेशमा अपेक्षाकृत क्रूर भएको देखिन्छ ।

    यसको मनोसामाजिक कारण के होला ? अनावश्यक बलको प्रयोग प्रहरी रिसाएको मात्र हैन आत्तिएको पनि लक्षण हो । कैलालीको टीकापुरमा भिडले प्रहरीलाई जिउँदै जलाएर मारेको छ । घाइते निःशस्त्र प्रहरीलाई उपचारार्थ अस्पताल लैजान लाग्दा एम्बुलेन्सबाट झिकेर मारिएको घटना प्रदेश नम्बर २ कै हो । कतै यस्तै र यिनै घटनाले सुरक्षाकर्मीलाई तराईमा विशेषगरी प्रदेश नम्बर २ मा असुरक्षा, अविश्वास र आक्रोश बढाएको त हैन ? छानबिनमा प्रहरी र तराईवासी विशेषगरी प्रदेश नम्बर २ का सर्वसाधारणको मनोसामाजिक पक्षमा पनि ध्यान दिनुपर्छ । दक्षिण एसियामा नेपाल प्रहरी अपेक्षाकृत कम क्रूर र बढी मानवीय छ भन्ने मानिन्छ । यो छवि जोगाइराख्न पनि तराईमा प्रहरीले जनसाधारणसँग निकटता र विश्वास बढाउने प्रयत्नमा बढी ध्यान दिनुपर्ने देखिन्छ । यस्तै तराई र त्यसमा पनि प्रदेश नम्बर २ का राजनीति नेताहरूको अपराधीसँग बढी हिमचिम हुने गरेको छ । त्यसले प्रहरी र राजनीतिकर्मीबीच तनाव उत्पन्न भएको हुनसक्छ । त्यस्तो तनाव मौका पाउनेबित्तिकै भिडलाई उक्साउन प्रयोग हुनसक्छ ।स्थानीयले त्यसरी मापदण्डविरीत खोला खोतलिएको जानकारी दिँदा पनि स्थानीय तह र प्रहरी प्रशासनले कारबाही नगरेको जनताको दाबी सही हो भने छानबिनमा त्यस पक्षलाई पनि समावेश गर्नुपर्छ । यस्ता दुर्भाग्यपूर्ण घटना फेरि नहोस् ।


    क्याटेगोरी : सम्पादकीय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस