• The Public Today
  • महोत्तरीमा घरधनीलाई कुटपिट गरी लाखौंको लुटपाट, एकजना पक्राउ


    द पब्लिक टुडे समाचारदाता
    बर्दिवास, असार १९ गते ।
    महोत्तरीमा घरधनीलाई कुटपिट गरी १५ लाख रुपैयाँ बराबरको धनमाल लुटपाट भएको छ । कुटपिटबाट ३ जना गम्भीर घाइते भएका छन् ।

    [custom-facebook-feed]

    बुधबार राति १०/११ जनाको समूहमा आएको लुटेराको समूहले क्रमबद्ध दुई वटा घरमा सुनचाँदी र नगदसहित १५ लाख बराबरको धनमाल लुटपाट गरेका छन् । बर्दिबास नगरपालिका– ७ का रामसुनर महतो र वडा नम्बर ६ का चन्देश्वर महतोको घरमा लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

    समूहमा आएको हतियारधारी डाँकाको समूहले ३ जनालाई निर्घात कुटपिट गरेर १५ लाख बराबरको धनमाल लुटेको बताइएको छ ।

    प्रहरीका अनुसार, डाँकाको कुटाइबाट चन्देश्वर महतो, जयवती देवी र उमेश महतो गम्भीर घाइते भएका छन् । बर्दिवासस्थित बर्दिवास जनसेवा अस्पताल पुर्‍याइएका उनीहरुको अहिले त्यहाँ उपचार भइरहेको छ ।

    लुटेरामध्ये एक जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला चन्द्रपर नगरपालिका घर भएका ४० वर्षीय देवनरायण कापड रहेको प्रहरीले जनाएको छ । लुटेराहरु भाग्ने क्रममा स्थानीय बासिन्दाले समात्ने प्रयास गरेका थिए । कापडलाई स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

    यस्तै पक्राउ परेका लुटेरालाई स्थानीयले कुटपिट गरेका कारण स्वास्थ्य अवस्था गम्भीर भएकाले बर्दिबासको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

    घटनामा संलग्न अन्य व्यक्तिको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस