आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

राजविराज, असार २० गते । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई सप्तरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई शुक्रवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।
दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनलाई आज(शुक्रवार) अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ ।
खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो ।
क्याटेगोरी : अपराध, समाज
प्रतिक्रिया दिनुहोस