प्रदेश २ मा ८० प्रतिशत भू-भाग डुबान

अजित तिवारी
जनकपुरधाम, असार २८ गते —
चार दिनदेखि निरन्तर राती ठूलो वर्षा र दिनभरको झरीले प्रदेश २ को ८० प्रतिशत भू-भाग डुबानमा परेको छ । बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले धनुषाको कमला खोला एरियाबाट उद्धार गरेको छ ।

[custom-facebook-feed]

कमला खोलामा आएको बाढीले धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि टापुमा अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गरेको छ । उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् ।

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालका अनुसार बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको छ ।

‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ,’ डिआइजी अर्यालले भने, ‘उद्धार र पूर्नस्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ उनका अनुसार धनुषाको कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार विहान सुरक्षित ठाउँमा सारिएको छ ।

नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार निरन्तरको वर्षाले प्रदेश २ को ८० प्रतिसत भू-भागमा पानी जमेको छ । वर्षाले सबभन्दा बढी रौतहट जिल्ला प्रभावित छ । त्यहाँका अधिकांश बस्ती डुबानमा परेको छ । चन्द्रनगर र गरुडाको प्रहरी चौकी वाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानमा परेको छ ।

पानी अझै परिरहेको छ । प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ । कमला सिँचाइ आयोजनाका प्रमुख मनोहर साहका कारण रातीको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्याम समेत भत्काएको छ । कमला खोलाको पुलमा रहेका प्रमुख साहले फोनमा भने,‘कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ । स्थिती भयावह छ ।’