• The Public Today
  • इञ्जिनियरसहित ९ जना बाँधमै थुनिए, हेलि लिफ्ट गर्ने प्रयास असफल


    जनकपुरधाम, अषाढ २८ गते । पुलको अनुगमनमा इञ्जिनियरसहित कमला खोला पुगेका ९ जना प्राविधिकको टोली बाढीका कारण बाँधमै थुनिएका छन् । शुक्रबारदेखि नै बाँधमै अलपत्र परेका उनीहरुको उद्धारका लागि हेलिकप्टर मार्फत् लिफ्ट गराउने प्रयास पनि मौसमका कारण सफल हुन सकेको छैन ।

    [custom-facebook-feed]

    हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन साहसहित ९ जनाको प्राविधिक टोली सरहा-धनुषाको सीमामा पर्ने बसपिट्टामा बाढीले घेरिएका छन् । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार कमला खोलाको पानीले चारैतिरबाट घेरिएका उनीहरुलाई उद्धार गर्न हेलिकोप्टर ल्याउने प्रयास भइरहेको छ ।

    हुलाकी राजमार्गमा निर्माण भइरहेको पुलको निरिक्षण गर्न इञ्जिनियर साहसहित ९ जनाको प्राविधिक टोली शुक्रबार कमला खोलाको तटीय क्षेत्र पुगेका थिए । धनुषाका सिडिओ प्रदिप कणेलले कमला खोलाको बाँधको टुप्पोमा बसिरहेका उनीहरुलाई चारैतिरबाट पानीले घेरेको छ । ‘फोनमा कुरा हुँदा उनीहरु बसेको ठाउँसम्म पानी पुग्न १ फिट मात्रै बाँकी छ,’ सिडिओ कणेलले भने, ‘चारैतिर पानी नै पानी रहेकाले उद्धारकर्मी र बोट पठाउने अवस्था छैन ।’

    कमला खोलामा फसेका इञ्जिनियरसहितको ९ जनाको टोलीलाई हेलि लिफ्ट गर्न नेपाली सेनाको इटहरी पृतनाबाट शनिबार हेलिकोप्टर उडेपनि खराब मौसमका कारण बिचबाटै फर्किएको छ । अहिले पनि ठूलो वर्षा भइरहेकोले कमला खोलामा पानीको जलस्तर बढिरहेको छ ।

    ‘इटहरी, हेटौंडा र काठमाडौंमा ठाउँमा हेलिकप्टर तम्तयार छ । तर, निरन्तर भारी वर्षा भइरहेकाले उडाउन सकिएको छैन,’ सिडिओ कणेलले भने, ‘शुक्रबारदेखि नै बाढीमा उनीहरु फसेका रहेछन, शनिबार मात्रै खबर आयो ।’

    यता, कमला खोलामा आएको बाढीले धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि टापुमा अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गरेको छ । उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् । सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालका अनुसार बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको छ ।

    ‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ,’ डिआइजी अर्यालले भने, ‘उद्धार र पुनर्स्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ उनका अनुसार धनुषाको कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार विहान सुरक्षित ठाउँमा सारिएको छ । कान्तिपुर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस