• The Public Today
  • सिरहामा बाढी र डुबानले २ बालिकासहित ५ जनाको मृत्यु, एक बेपत्ता


    सिरहा, असार ३० गते । लगातारको वर्षासँगै आएको बाढीको कारणले सिरहाका चार ठाउँमा दुई बालिकासहित पाँचजनाको मृत्यु भएको छ ।

    [custom-facebook-feed]

    बाढीको कारणले सिरहाको सिरहा नगरपालिका १५, १६, मिर्चैया नगरपालिका ४ र नरहा गाउँपालिकामा गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले  सिरहा-१६ पटेर्वामा बाढीमा आइतबार एक ३० वर्षीया महिलाको शव भेटिएको र सनाखत नभएकाले सिरहा अस्पतालमा ल्याएर राखिएको बताए ।

    त्यही दिन सिरहा १५ सुखचैना गाउँको पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय भारतीय किशोर बलि साहको शव खोजी भइरहेको उनले बताए ।  

    त्यस्तै, उदयपुर घर भई सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुरस्थित संस्थागत विद्यालयमा कार्यरत करिब ५५ वर्षीय सोभित कटुवालको पनि मृत्यु भएको छ। विद्यालयको काम सकेर डेरा फर्किने क्रममा बाढीमा चिप्लिएर घाइते भएका कटुवालको उपचार गर्न लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले उल्लेख गरे ।

    उनका अनुसार मिर्चैया नगरपालिका ४ मा ११ वर्षीया रागिनी कुमारी महतोको शनिबार र ५ वर्षीया प्रियङ्का साहको पानीमा डुबेर मृत्यु भएको छ। तीन दिनअघि शनिबार कमलाको बाढीले बगाएका कल्याणपुर नगरपालिका ६ भोक्राहा गाउँका ५५ वर्षीय कामेश्वर यादव सीमावर्ती भारती गाउँ झररपट्टिमा भेटिएका छन् ।

    नदी किनारमा राखिएको डुङ्गा हेर्न जाँदा बाढीले बगाएका यादवलाई आइतबार सीमावर्ती भारतीय बजार जयनगर नजिकै रहेको झररपट्टिी गाउँमा सकुशल फेला पारेपछि सिरहा ल्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस