वडाध्यक्षको टाउको फुटाउने चोर पक्राउ

काठमाडौं, साउन ५ गते – धादिङको नीलकण्ठ नगरपालिका १४ का वडाध्यक्ष फन्द्रा तामाङ शुक्रबार काठमाडौंको टोखास्थित घरमा आएका थिए । तर ढोका खोल्नेवित्तिकै हातमा रड र झोला बोकका व्यक्तिसँग उनको जम्काभेट भयो ।

[custom-facebook-feed]

उनले प्रतिवाद गरे । हतियारसहित भएका व्यक्तिसामू उनको केही जोर चलेन । टाउकामा रड हानेर उनी भागे ।

तामाङ अहिले ग्राण्डी अस्पतालमा उपचाररत छन् । वडाध्यक्षमाथि सांघातिक आक्रमण भएपछि उनी प्रतिस्पर्धीको निशानामा परेको हुनसक्ने आशंका गरिएको थियो । तर प्रहरीको अनुसन्धानले उनको घरमा दिउँसै चोर छिरेको देखाएको छ ।

‘अपरान्ह करिब ४ बजेतिर कोही नभएको मौका पारी सामान निकाल्दै गरेको चोरले उहाँमाथि आक्रमण गरेको रहेछ’, महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने ।

प्रहरीले चोरीमा संलग्न खुंखार चोर बानियाटारका पदमबहादुर गौतमलाई पनि आइतबार बिहान पक्राउ गरेको छ । उनीले वडाध्यक्षको घरमा चोरी गर्न छिरेको पनि स्वीकारेका छन् ।

डीएसपी बोगटीका अनुसार गौतम यसअघि भएका ६ वटा चोरी मुद्दामा खोजी सूचीमा थिए । प्रहरीले गौतमबाट चोरीको सामान खरिद गर्ने कवाडी व्यापारी भारतीय नागरिक १९ वर्षीया सुमन शहनीको माध्यमबाट पक्राउ गरेको हो ।

गौतमले चोरेर ल्याएको ३ वटा एप्पल कम्पनीको ल्यापटप उनले खरिद गरेका थिए । प्रहरीका अनुसार गौतमको साथबाट लागूऔषध ब्राउन सुगर पनि बरामद भएको छ । ‘हामीले गौतमविरुद्ध ज्यान मार्ने उद्योग, चोरी र लागूऔषध मुद्दामा अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौं’, बोगटीले भने । अनलाइनखबर